

भरतपुर उपमेयरको उम्मेदवार चित्रसेन अधिकारीलाई बनाउने कांग्रेसको निर्णय

काठमाडाैँ- पाँचदलीय सत्ता गठबन्धनका तर्फबाट चितवनको भरतपुर महानगरको उपमेयरको उम्मेदवार नेपाली कांग्रेसका नेता चित्रसेन अधिकारीलाई बनाउने निर्णय भएको छ।
आज प्रधानमन्त्रीको सरकारी निवासमा बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले आफ्नो भागमा परेको भरतपुरको उपमेयर सिटमा अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
नेपाली कांग्रेस भरतपुर महानगरपालिका कार्यसमितिका सभापति अधिकारीलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय प्रधानमन्त्रीसमेत रहेका केन्द्रीय सभापति शेरबहादुर देउवाले गरेका हुन्।
चितवन काङ्ग्रेस सभापति राजेश्वर खनालका प्रेस सहयोगी आशिष अधिकारीले दिएको जानकारीअनुसार सभापति देउवाले केन्द्रमा भएको छलफलको सहमति जानकारी गराएका थिए।
भरतपुरको प्रमुखमा दाबी गरिरहेका अधिकारी यो सिट आफ्नो पार्टीको भागमा नपरेपछि उपप्रमुखको उम्मेदवार बन्ने भएका हुन्। प्रमुखमा भने माओवादी केन्द्रकी केन्द्रीय रेनु दाहाल उम्मेदवार बन्दै छिन्। उनी त्यहाँको निवर्तमान मेयर हुन्।

