आइतवारदेखि अत्यावश्यकबाहेक सम्पूर्ण काम ठप्प पार्ने : निर्माण व्यवसायी


काठमाडाैं – निर्माण व्यवसायीहरुले पर्सि आइतवारदेखि अत्यावश्यक कामबाहेक सम्पूर्ण निर्माण कार्यहरु बन्द गरी ‘निर्माण होलिडे’ गर्ने भएका छन् ।

विभिन्न निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा अत्यधिक मूल्यवृद्धि भएको र यस्तो मूल्यवृद्धिको समस्या समाधान नभएसम्म निर्माण कार्य सञ्चालन गर्न नसक्ने भन्दै निर्माण व्यवसायीहरुले आउँदाे आइतवारदेखि अत्यावश्यक बाहेका निर्माण कार्य बन्द गरी ‘निर्माण होलिडे’ गर्ने भएका हुन् ।

आज काठमाडाैंमा नेपाल निर्माण व्यवसायी महासङ्घले पत्रकार सम्मलेन गरी मूल्य समायोजन मार्गदर्शन नं-२ तत्काल जारी गर्न पटकपटक आग्रह गर्दा समेत सरकारले सम्बोधन नगरेपछि बाध्य भएर सम्पूर्ण निर्माण कार्य बन्द गरी आन्दोलनमा जानु परेको बताएका छन् ।

महासङ्घका अध्यक्ष रवि सिंहले विदेशी मुद्राको अभावले गर्दा निर्माण सामग्री आयात गर्न समस्या भएको साथै बैंकहरुले पनि लगानी नगरिरहेको कारण निर्माणको गतिविधि गर्नुपर्ने समयमा गति बढाउन नसकेको बताए । उनले मूल्य समायोजन मार्गदर्शन तत्काल जारी गर्न मागसमेत गरे ।

यस्तै, महासङ्घले आउँदो १३ गते मङ्गलवारदेखि आफ्ना ७७ जिल्ला सङ्घहरुले जिल्ला प्रशासन कार्यालय र ७ वदै प्रदेश महासङ्घहरुले मुख्यमन्त्रीको कार्यालय प्रत्यक दिन एक घन्टा धर्ना गर्ने पनि जानकारी दिएका छन् ।

महासङ्घले बिहीवार ताहाचलमा रहेकाे सार्वजनिक खरिद अनुगमन कार्यालय र कुपण्डोलमा रहेकाे बीमा समितिको कार्यालयमा पनि एक घन्टा धर्ना दिएका थिए ।

निर्माण व्यवसायीहरुले निर्माण उद्योगमा पछिल्लो समय निर्माण सामग्रीहरुमा भएको अत्यधिक मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका केही त्रुटिपूर्ण बुँदा, बीमा निर्देशिका २०७८ का प्रावधान लगायतका कारण निर्माण व्यवसाय धराशायी बन्दै गएको भन्दै गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया