पत्रकार ऋषि धमलालाई ‘आचार संहिता अभिमुखीकरण कक्षा’


काठमाडौं– पत्रकार आचार संहिता उल्लंघन गरेका पत्रकार ऋषि धमलाले नेपाल प्रेस काउन्सिलको कारवाहीस्वरुप एकदिने ‘आचार संहिता अभिमुखीकरण कक्षा’ लिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासमेत उच्चपदस्थ व्यक्तिहरु सवार जहाजभित्र ऋषि धमलाले विमानभित्रै ‘रिपोर्टिङ’ गरेका कारण काउन्सिलको कारबाहीमा परेका थिए । तीन दिनअघि काउन्सिलले पत्रकार धमलालाई ‘आइन्दा यस्तो कार्य नगर्न’ सचेत गराउँदै आचार संहितासम्बन्धी एक दिने कक्षा लिनुपर्ने निर्णय गरेको थियो ।

सोही निर्णय कार्यान्वयन गर्न धमलाले कक्षा लिन आएका हुन् । उनलाई काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल र काउन्सिलका सदस्य गोपाल बुढाथोकीले  पढाएका छन् ।

आचार संहिता उल्लंघनमा कक्षा लिने धमला पहिलो पत्रकार भएको काउन्सिल स्रोतले जानकारी दियो । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई ‘सचेतना कक्षा’ सञ्चालन गरेजस्तै प्रेस काउन्सिलले पनि गत चैत १ गतेदेखि यस्तो नियम लागू गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्कने क्रममा अनुमतिबिना विमानभित्र छिरेर ‘रिपोर्टिङ’ गरेका धमलालाई नेपाल वायुसेवा निगमका कर्मचारीले त्यसो नगर्न पटक–पटक आग्रह गर्दा पनि जबर्जस्ती भिडियो सम्प्रेषण गरेका थिए । उनलाई काउन्सिलले गत चैत २२ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

प्राइम टाइम टेलिभिजनका अध्यक्षसमेत रहेका धमलालाई आइन्दा आचार संहिता पूर्णतः पालन गर्ने बचन दिएको काउन्सिल स्रोतले बतायो ।

प्रतिक्रिया