एमाले लिडरसीप गलत मान्छेको हातमा जाँदा इमान्दार कम्युनिस्ट कार्यकर्ता रनभुल्ल परेः अध्यक्ष प्रचण्ड


काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  एमाले लिडरसीप गलत मान्छेको हातमा जाँदा इमान्दार कम्युनिस्ट कार्यकर्ता रनभुल्ल र अलमलमा पर्ने गरेको टिप्पणी गरेका छन् । पेरिसडाँडामा आयोजित नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले भन्दैमा सबै खराब नभएको बताए ।

एमाले पार्टीभित्र पनि केही राम्रा कम्युनिस्ट रहेको बताए । ‘नेकपा एमालेका कमरेडलाई म स्मरण गर्न चाहन्छु । एमालेका नेता/कार्यकर्ताले विश्वास र भरोस गरेका थिए । एमाले भन्दैमा सबै खराब छैनन् । त्यहाँ पनि राम्रा कम्युनिस्ट छन्,’ अध्यक्ष प्रचण्डले भने ।

एमालेको नेतृत्वमा गलत व्यक्ति बसेका कारण धेरैलाई एमाले पार्टी नै खराब हो भन्ने परेको उनले जनाए । एमालेको नेतृत्वमा गलत व्यक्ति पर्दा त्यहाँ रहेका इमानदार कम्युनिस्टलाई फुत्किन गाह्रो भएको उनले बताए ।

‘आज पार्टी स्थापना दिवसको अवसरमा सम्पूर्ण एमाले भित्रका ती इमानदार कम्युनिस्ट जुन साँच्चै बाम गठबन्धनको पक्षमा अहिले हुनुहुन्छ, कम्युनिस्टहरूको एकता आवश्यक छ भन्ने ठान्नुहुन्छ उहाँहरूलाई गलत प्रकृतिविरुद्ध संघर्ष गर्न प्रेरणा मिलोस्,’ अध्यक्ष प्रचण्डले भने ।

उनले पार्टी स्थापना दिवसको अवसरमा सम्पूर्ण एमाले भित्रका इमान्दार कम्युनिष्ट कार्यकर्तालाई गलत प्रवृतिविरुद्ध लड्न अवसर मिलोस् भन्ने कामना समेत गरे। उनले एमालेभित्र अझै वाम गठबन्धन र कम्युनिस्ट एकता चाहने इमान्दार कम्युनिस्ट भएको बताए।

उनले दक्षिणपन्थी संशोधनवाद, प्रतिगामी प्रवृत्तिविरूद्ध लड्न कार्यकर्तालाई निर्देशन दिए। उनले माओवादीले यो निर्वाचन हार्दा प्रतिगामी, प्रतिगामीको हातमा अवसर जाने समेत धारणा राखे। उनले पछिल्लो समय माओवादीबाट छुट्टिएकाहरु मूलघरमा फर्कनेक्रम जारी रहेको बताए।

प्रतिक्रिया