
जनप्रतिनिधिले राजीनामा दिए वडा सचिवले कार्यालय सञ्चालन गर्ने
काठमाडौं – काठमाडौं महानगरले जनप्रतिनिधिले राजीनामा दिएको अवस्थामा वडा सचिवले कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
आज नगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको महानगरको ७५ औँ कार्यपालिका बैठकले वडाध्यक्ष तथा वडा सदस्यहरुले राजीनामा दिएको अवस्थामा कामकाज गर्ने, स्थानीय तह स्वमूल्याङ्कन लगायत विषयमा निर्णय गरेको हो ।
नेपालको संविधानको धारा ११५ को उपदफा ८ मा जनप्रतिनिधि पदमा रहन नसक्ने अवस्थाका बारेमा व्यवस्था छ । यसरी पदमा रहन नसक्ने अवस्थामा प्रमुखले उपप्रमुखसमक्ष तथा उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुले प्रमुखसमक्ष राजीनामा दिनुपर्दछ ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार बन्न राजीनामा दिनु पर्ने अहिलेको अवस्थामा वडाअध्यक्षसहित सबै सदस्यले राजीनामा दिएमा वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्ने निर्णय गरेको हो । स्थानीय सरकार सञ्चालन ऐनको दफा ११६ मा कार्यवाहक भइ काम गर्ने अवस्था सम्बन्धी व्यवस्था छ । जसमा वडाध्यक्षले राजीनामा दिए, वडा सदस्यमध्येबाट कार्यवाहक दिन सकिन्छ ।
सबै जनप्रतिनिधिले राजीनामा दिए कार्यवाहक अध्यक्षका विषयमा कार्यपालिकाको बैठकले निर्णय गर्न सक्छ । यही व्यवस्था बमोजिम आजको बैठकले वडाध्यक्षले राजीनामा दिए वडा सदस्यमध्येबाट १ जनालाई कार्यवाहक दिने निर्णय गरेको छ । यदि वडाका सबै जनप्रतिनिधिबाट राजीनामा पेश भए वडा सचिवलाई कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्ने अधिकार दिने निर्णय भएको हो।
बैठकमा योजना अनुगमन तथा मूल्याङ्कन एकाईका प्रमुख नरेन्द्रविलास बज्राचार्यले स्थानीय तह संस्थागत स्वमूल्याङ्कनको नतिजा पेश गरेका थिए । यस्तै नन्दी रात्री माध्यमिक विद्यालय, नक्सालमा राजेश हुमागाई र महेन्द्र बौद्ध माध्यमिक विद्यालयमा धर्मेन्द्र खकुरेललाई प्रधानाध्यापकमा गरिएको नियुक्ति बैठकले अनुमोदन गरेको छ ।
बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित अधिकारीहरु सहभागी थिए।



कागजपत्र |
