

हामीलाई सधैँ कम्युनिष्टले डरमा राखेर बार्गेनिङ गर्दैछन् : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले पछिल्लो समयमा कम्युनिष्टले सधैँ डरमा राखेर बार्गेनिङ गरिरहेको बताएका छन् । नेपाल विद्यार्थी संघले गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
स्थानीय तहको निर्वाचनमा त्यहाँका नेता तथा कार्यकर्ताले तालमेल आवश्यक हो कि होइन भन्न पाउने हो कि होइन भन्दै प्रश्न गरेका थिए ।
“हामी निरन्तर कम्युनिष्ट पार्टीको डरमा रहने भयौँ,” थापाले भने, “हिजो सँगै रहेर अर्को पार्टीसँग मिलेको हामीले देखेकै हो । नभए मिल्दिउँ उता ? भन्छन् । चुनाव जितेको भोलिपल्ट फेरि बार्गेनिङ सुरु हुन्छ । कुनै बेला उनीहरु एकठाउँमा आउन सक्छन् । तर हामीसँग सधैँ बार्गेनिङ गर्ने भए ।”
उनले कम्युनिष्टको चरित्र र स्वभाव सधैँ यस्तै भएको बताउँदै भने, “हामीसँग ३०औँ लाख नयाँ मतदाता आएका छन् । उनीहरुलाई हामीसँग जोड्नुपर्छ । हामी आफ्नो संगठन बलियो बनाएर अघि बढ्नुपर्छ,” उनले भने ।
थापाले नेकपा एमालेतर्फ संकेत गर्दै परिवार दल, घर दल, हुक्के दल लिएर अघि बढेको दलसँग एक्लै चुनाव लड्न तयार रहेको बताए ।

