

पुन: काममा फर्किए गभर्नर, भने – सर्वोच्चको आदेश मेरो होइन सिस्टमको पक्षमा

काठमाडौं – नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि पुन काममा फर्किएका छन् ।
सर्वोच्च अदालतले हिजो (मंगलबार) गभर्नरलाई निलम्बन गर्ने निर्णयलाई तत्काल कार्यान्वयन नगर्न नगराउन भन्दै अन्तरिम आदेश जारी गरेसंगै गभर्नर अधिकारी काममा फर्किएका हुन् ।
अदालतको आदेशपछि बुधबार काममा फर्किएका उनले आदेश आफ्नो नभई सिस्टमको पक्षमा आएको बताएका छन् ।
‘म एउटा माध्यम मात्रै हुँ। यो सिस्टमको लागि आएको आदेश हो,’ उनले भने, ‘यहाँहरूले मेरो लागि भन्दा पनि सिस्टमकै लागि बोलिदिनुभएको छ। त्यसको लागि कृतज्ञ छु। अब आफ्नो जिम्मेवारीमा फर्किएको छु ।’
चैत २४ गते मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । उनले वैशाख ४ गते आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। त्यसको भोलिपल्ट(बिहिबार) मात्रै अदालतमा रिट दर्ता भएको थियो ।
उनलाई बुधबार राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले खादा माला लगाएर तालीका साथ स्वागत गरेका थिए ।
अधिकारीको निलम्बनका विषयमा छलफल गर्न सर्वोच्चले वैशाख १३ गते दुवै पक्षलाई बोलाएको छ ।

