

वीर अस्पतालको क्याथ ल्याब खरिदमा अनियमितता
डा. समिर पौडेलले बनाए एउटा कम्पनीका लागि मात्र मिल्ने स्पेक

काठमाडौं – मुलुककै सबैभन्दा ठूलो सरकारी अस्पताल वीर अस्पतालमा बेलाबखत भ्रष्टाचार हुने गरेको समाचार बाहिरिइरहने गरेको बेला अहिले फेरि अर्को भ्रष्टाचारको काण्ड बाहिरिएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले १० करोड रुपैयाँ बराबरको क्याथ ल्याब खरिदका लागि टेण्डर निकालेको उक्त टेण्डरको ‘स्पेक’ बनाउँदा ठूलो घोटाला भएको वीर अस्पतालमै कार्यरत केही कर्मचारी र सर्जिकल उपकरण सप्लायर्सले जनाएका छन् ।
टेण्डरमा माग गरिएअनुसारको क्याथ ल्याब खरिदका लागि आगामी मे–५, २०२२ भित्र टेण्डर आह्वान गरिएको छ । सो उपकरणको स्पेक चीनमा उत्पादित गुणस्तरहीन फिलिप्स हेल्थ केयरका लागि मात्रै मिल्ने गरी बनाइएको दाबी छ । स्पेक बनाउँदा अन्य कम्पनीहरुको क्याथ ल्याबका लागि अयोग्य हुने गरि बनाइएको जनाउँदै व्यापारीहरुले छानबिनको माग गरेका छन् ।
मागअनुसार वीरअस्पतालमै रहेको प्रि–बीड वैठकमा विभिन्न बायोमेडिकल इन्जिनियर र उपकरण व्यवसायीहरुले एउटा कम्पनीका लागि मात्र हुने गरि स्पेक बनाएकोले त्यसमा अनियमिता भएको दाबी गरेका छन् । उनीहरुले अस्पताल प्रशासनलाई सबैले टेण्डर भर्न पाउने गरी स्पेक सच्याउनका लागि सुझाव दिएका थिए । तर पनि वीर अस्पतालको उपकरण खरिद प्रक्रियाका लागि स्पेक बनाउने डा. समिर पौडेलले व्यवसायी र बायोमेडिकल इन्जिनियरहरुले दिएको सुझावलाई बेवास्ता गर्दै कमिशनको लोभमा फिलिप्स कम्पनीका लागि मात्र हुने गरी बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्रालय, सम्पत्ति शुद्धिकरणलगायतका निकायमा उजुरी दिने तयारी गरेका छन् ।
डा. पौडेलले बनाएको स्पेकअनुसार मुटुरोग जस्तो संवेदनशील उपचारका लागि प्रयोग गरिने उपकरण गुणस्तरहीन भित्रिने भएकोले त्यसका लागि बेलैमा सचेत हुनपर्ने पनि जनाइएको छ ।
साथै सर्जिकल उपकरण सप्लायर्सहरुले डा. पौडेलले फिलिप्सको नेपाल एजेन्ट विशाल पण्डितको हस्पिटेक इन्टरप्राइजेजसँग मात्र मिल्ने गरी बनाएको हुनाले योग्य विज्ञमार्फत् स्पेक बनाएर उपकरण भित्राउनसमेत माग गरेको छन् । साथै उनीहरुले आम जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने डा. पौडेललाई कारबाहीको माग पनि गरेको छ ।

