

एकाएक बजारमा किन भयो खाना पकाउने ग्यासको हाहाकार ?

काठमाडौँ– पछिल्लो समय उपत्यकामा ग्यास अभाव देखिएको छ । दैनिक उपभोग्य वस्तुको भाउ आकासिएको बेला उपभोक्ताले सहज रूपमा ग्याससमेत पाउन छाडेका छन् । ग्यास लिन जाँदा उपभोक्तालाई बिक्रेताले हाल उद्योगबाट नआएको हुँदा दिन नसकिने जवाफ दिने गरेका छन्। राजधानीका अधिकांश ग्यास बिक्रेताले हाल ग्यास नभएको भन्दै उपभोक्ताहरूलाई फिर्ता पठाउने गरेका छन् ।
कतिपय बिक्रेताले बजारमा ग्याँसको अभाव हुन थालेपछि भएका ग्यास पनि लुकाउने गरेको उपभोक्ताको आरोप छ। ग्यास उद्योगी गोकुल भण्डारी हाल बजारमा ग्यास अभाव हुनुमा केही समयअघिको आयल निगम र व्यवसायीहरूको लफडाको असर हाल कारक रहेको बताउँछन्। व्यवसायीहरूले पेट्रोलियम पदार्थ ल्याउन तथा डिलरहरूमा पुर्याउन एउटा चक्र बिग्रने बित्तीकै सहज आपूर्तिमा समस्या हुने गरेको उनको भनाइ छ । बजारमा ग्यास अभाव हुने बित्तिकै उपभोक्ताहरूले ग्यासको जगेडा गर्ने गर्नाले समेत हाल अभाव देखिएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको हुँदा तथा डलर सञ्चितिको लागि हाल आयात पनि कम भएको हुँदा केही समय समस्या देखिएको र अब एक हप्तामा समस्या समाधान हुने भण्डारी बताउँछन्।
नेपाल आयल निगम प्रवक्ता विनीतमणि उपाध्याय व्यवसायीहरूले चैत ६ देखिको सुरु गरेको आन्दोलनको असर हाल ग्यासमा देखिएको बताउँछन्। ६ देखि १९ सम्म १३ दिन पेट्रोलियम पदार्थको प्रडक्ट डेलिभरी अर्डर नउठेका कारण पनि हाल केही कम्पनीहरूको ग्यास अभाव देखिएको उपाध्याय बताउँछन्। १३ दिन ग्यास नआएका कारण त्यसकै ग्यापको असर हाल बजारमा देखिएको तथा ग्यासको आयातका लागि पनि भारतका विभिन्न स्थान जानुपर्ने भएको हुँदा अभाव देखिएको र हप्ता १० दिनमा समस्या समाधान हुने उनको भनाइ छ।

