

अछामका न्यायाधीश जोशी सर्वोच्च तानिए

काठमाडौँ – जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशी सर्वोच्च अदालतमा काजमा तानिएका छन् । कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई काजमा काठमाडौं तानेका हुन् ।
दबाब र प्रभावमा परेर बयान फेर्न बाध्य पारिएकी महिलालाई सजाय गर्ने तर अभियुक्तलाई सफाइ दिने विवादास्पद फैसला गरेका जोशीमाथि न्याय परिषद्ले पनि छानबिन गरिरहेको छ ।
प्रारम्भिक छानबिनबाट जोशीलाई न्यायिक विचलन नदेखिएको तर कार्यक्षमताको अभाव हुन सक्ने पाइएको न्याय परिषद्का एक सदस्यले बताए ।
गत चैत १३ मा हुँदै नभएको कानुनी व्यवस्थालाई उद्धृत गर्दै पीडित महिलालाई प्रतिरक्षाको मौकासमेत नदिई कैद सजाय हुने फैसला गरेको थियो । त्यसविरुद्ध दिपायल उच्च अदालतमा पुनरावेदनको निवेदन दिने तयारी गरेकी छन् । सरकारी वकिलले पनि अभियुक्तलाई सफाइ दिने न्यायाधीश जोशीको फैसलाविरुद्ध पुनरावेदन गर्ने भएको छ ।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले न्यायाधीश जोशीलाई प्रधानन्यायाधीशले काज सरुवा गरेपछि अछाममा अर्को न्यायधीश पठाउने तयारी भइरहेको बताए ।

