निर्दयी पिता : आफ्नो मुटुको उपचारका लागि छोरी बेच्नेलाई १४ वर्ष कैद


हनोई – भियतनामको घेआन प्रान्तका एकजना पितालाई आफ्नी छोरी मानव तस्करहरूलाई बेचेको अभियोगमा अदालतले चौध वर्ष लामो कारावास सजाय सुनाएको छ । ४७ वर्षीय लो फो फेङ नामक ती पुरुषले आफ्नी १३ वर्षीया छोरीलाई करिब ६ हजार ५५० अमेरिकी डलरमा चीनस्थित एक पुरुषलाई बेचेका थिए ।

आफ्नो मुटुको रोगको उपचारका लागि खर्च नपुग्दा उनले यस्तो काम गरेका हुन् । फेङ सन् २०१८ मा आफ्नो छोरी बेच्नुपेर्‍यो भन्दै ३५ वर्षीय लो थी काम नामक व्यक्तिको सम्पर्कका गएका थिए । लोले यसका लागि ४६ वर्षिय मून थी सुम नामक व्यक्तिलाई भेट्न सल्लाह दिएका थिए । त्यसपछि सुम र होङ नामक अर्को एक व्यक्तिले फेङकी छोरीलाई चीनमा लगेर बेचेका थिए ।

यस अवैध कारोबारमा फेङको हातमा ४ हजार ३६७, सुमको हातमा ३०६ र कामको हातमा ५६८ डलर परेको थियो । तर २०२१ को अक्टोबरमा फेङकी छोरी भागेर भियतनाम फर्कन सफल भइन् । उनले घटनाबारे की सोन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

फेङले अदालतसमक्ष अज्ञानता र चरम गरिबीका कारण आफू विचारशून्य भएको बताएका छन् । सुम र कामलाई पनि जनही क्रमशः १३ र १२ वर्ष कैद सजाय सुनाइएको छ । एजेन्सी

प्रतिक्रिया