पोखरा महानगरपालीकामा एमालेले चुनावबाट उम्मेदवार छान्दै, आजै मतदान


पोखरा – नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेदवार छान्ने भएको छ । लामो छलफलमा समेत सहमति नभएपछि आज (शुक्रबार) मतदानको तयारी गरिएको हो । मनोनयन शुक्रबार नै हुनेछ ।

यसअघि आकाङ्क्षाका रुपमा नाम टिपाएकाहरु बाहेकले समेत मनोनयन गर्न पाउने छन् । सचिवालय बैठकले निर्वाचन मण्डल गठन गरेको छ । एमाले निकट अधिवक्ताहरू कमल अर्याल, जुना गुरुङ, भगवती पहारी र यामबहादुर खत्री सम्मिलित निर्वाचन मण्डल बनाइएको हो ।

निर्वाचन मण्डलले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिसकेको छ भने शुक्रबार बिहान मनोनयनको कार्यक्रम छ । यसअघि गत मंगलबार आकाङ्क्षीको नाम टिपिए पनि पुनः नयाँ प्रक्रियाबाट मनोनयन गर्न लागिएको हो ।

मेयरमा १२ जनाले आकाङ्क्षा देखाएका थिए भने उपमेयरमा ११ जनाको नाम टिपिएको थियो । मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीसहित वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), व्यवसायी पुष्पज्योती ढुङ्गाना, पुष्पराज अधिकारी, महानगरका पूर्व अध्यक्ष दिपक पौडेल, बालासिंह काउचा मगर, सावित्री भण्डारी, मिनाकुमारी गुरुङ, भीमबहादुर कार्की, रश्मि आचार्य र प्रा डा। विश्वकल्याण पराजुलीले आकाङ्क्षा देखाएका थिए ।

उपमेयरका लागि एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री, पत्रकार सुष्मा पौडेल, वडाध्यक्ष शोभामोहन पौडेल र जीवन आचार्य, बामदेव ढुङ्गाना, टिकाराम पङ्गेनी, व्यवसायी सञ्जीव बहादुर कोइराला, देवका पहारी ९त्रिपाठी०, बलराम गायक (गन्दर्भ) र हरिमाया गुरुङले नाम दर्ता गराएका थिए ।

पोखरा महानगरपालीकामा २०७४ को निर्वाचनमा पनि आन्तरिक प्रतिस्पर्धाबाटै मेयर र उपमेयरको नाम टुङ्ग्याइएको थियो ।

प्रतिक्रिया