गठबन्धनका शीर्ष नेताको बैठक आज पनि बस्दै, चुनावी तालमेलको मोडालिटी सार्वजनिक गर्ने


काठमाडौं – सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक आज (सोमबार) पनि बस्दैछ । स्थानीय तह निर्वाचनमा तालमेलको निर्णय गरेका सत्ता गठबन्धन आबद्ध दलहरुले आज तालमेलको मोडालिटी सार्वजनिक गर्ने तयारी गरेका छन्। आज बिहान बस्ने गठबन्धनका शीर्ष नेता र निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले भागवण्डाको मोडालिटी तय गरेर सार्वजनिक गर्ने तयारी गरेको हो।

हिजो बसेको निर्वाचन परिचालन तथा अनुगमन समिति बैठकमा देशभरका पालिकामा पार्टीहरूको शक्ति सन्तुलनको प्रारम्भिक रिपोर्टिङ लिए पछि आज शीर्ष नेताहरूसमेत सहभागी भएर छलफल गर्न लागिएको समितिका संयोजक रामचन्द्र पौडेलले जानकारी दिए।

यसअघि आइतबार बसेको बैठकमा भागवण्डाबारे छलफल भएपनि सहमति जुटुन सकेको थिएन । गठबन्धनमा आवद्ध दलहरुले देशका ६ मध्ये ३ वटा महानगरपालिकाको नेतृत्व लिन कांग्रेसलाई प्रस्ताव गरेका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको संयन्त्रको आइतबारको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर लिन तथा भरतपुर, पोखरा र वीरगञ्ज महानगर छाड्न प्रस्ताव गरेका हुन् ।

आइतबारको बैठकपछि अनुगमन संयन्त्रको तर्फबाट जारी वक्तव्यमा तालमेल गरेर अघि बढ्न प्रदेश र जिल्लामा सहमति कायम गरेर केन्द्रमा पठाउने म्याद ३० गतेसम्म थप गरिएको छ ।

प्रतिक्रिया