
हारपछि रिसाएर फ्यानको मोबाइल फ्याँकेकोमा रोनाल्डोले मागे माफी
बीबीसी– एभर्टनसँगको म्याच हारेपछि म्यान्चेस्टर युनाइटेडका फर्वाड क्रिस्टियानो रोनाल्डोले मैदानबाट बाहिरिँदै गर्दा रिसाएर एक युवा फ्यानको मोबाइल भुइँमा फालिदिएका थिए । उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले आफ्नो व्यवहारलाई लिएर माफी मागेका छन् ।
युनाइटेड एभर्टनसँग १–० ले पराजित भएको थियो । यसपछि ३७ वर्षीय रोनाल्डोले आफ्नो सामाजिक सञ्जालमा लामो पोस्ट राख्दै सबैसँग माफी मागेका हुन् । ती फ्यानलाई आफ्नो अर्को खेलका लागि अग्रीम निम्तासमेत गरेका छन् ।
उनले लेखेका छन्, ‘कठिन क्षणहरूमा आफ्नो भावना नियन्त्रण गर्न सजिलो हुँदैन । तरपनि जस्तोसुकै अवस्थामा हामीले सम्मानजनक र धैर्यपूर्ण व्यवहार देखाइ युवाहरूका लागि राम्रो उदाहरण बन्नुपर्छ, जसले केबल यो खेललाई माया गर्छन् । त्यसैले म आफ्नो आक्रामक व्यवहारका लागि माफी माग्न चाहन्छु । यदि सम्भव छ भने ती समर्थकलाई ‘फेयर प्ले र स्पोर्टम्यानसिप’का हिसाबले ओल्ड ट्राफोर्डमा अर्को गेम हेर्नका लागि निम्ता गर्न चाहन्छु ।’
यसले च्याम्पियन्स लिगमा क्वालिफाई हुने युनाइडेटको आशा, निराशामा परिणत हुने देखिएको छ । यसकारण पनि संवेदनशील बनेका रोनाल्डो आक्रामक रूपमा देखा परेको बताइएको छ । यता युनाइटेड क्लबले पनि यो घटनाबारे आफूहरू जानकार रहेको र कुनै प्रहरी अनुसन्धान भएमा पूर्ण सहकार्य गर्ने बताएको छ ।



कागजपत्र |
