

वैशाखमा निक्षेपको ब्याजदर नबढाउने बैंकहरुको निर्णय

काठमाडौं – वाणिज्य बैंकहरुले वैशाखमा निक्षेपको ब्याजदर परिवतर्न नगर्ने भएका छन् । नेपाल बैंकर्स संघको आइतबार बसेको पूर्ण बैठकले वैशाखमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने निर्णय गरेको हो । ब्याजदर बढाउँदा पनि निक्षेप नआउने भएपछि बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि ब्याजदर स्थिर राख्ने भएका हुन् ।
नगद मार्जिन भएका वस्तुहरुको एलसी नखोल्ने निर्णय पनि संघले गरेको छ । नेपाल राष्ट्र बैंकले विभिन्न ४७ वटा हार्मोनिक कोडबाट सुरु हुने तीन सयभन्दा बढी वस्तुको आयातमा नगद मार्सिनको व्यवस्था गरेको छ ।
हाल बैंकहरुले व्यक्तिगत मुद्धतीमा ११.०३ प्रतिशत, संस्थागत मुद्धती निक्षेपमा १०.०३ प्रतिशत ब्याज दिँदै आएका छन् । यस्तै रेमिटयान्स खातामा १२.०३ र बचतमा न्यूनतम ६.०३ प्रतिशत ब्याज दिँदै आएका छन् । वाणिज्य बैंकहरुले गत फागुनमा मात्र निक्षेपको ब्याजदर बढाएका थिए । चैतमा भने निक्षेपको ब्याजदर स्थिर राखेका थिए ।
गत माघको तुलनामा फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशत बिन्दुले बढाएका थिए । फागुनमा वाणिज्य बैंकहरुले संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम गरेका थिए । सहमति अनुसार बैंकहरुले साेही ब्याजदर प्रकाशित गर्ने भएकाले वैशाख महिनाका लागि पनि निक्षेपकर्ताले उल्लेखित ब्याजदर नै पाउने छन् ।

