चैत २९ गते मेलम्चीको पानी काठमाडौँको धारा–धारामा आउला?


काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन आगामी मंगलबार हुने भएको छ। मंगलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्न लागेका हुन्।

खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको र यही चैत २९ गते मङ्गलबार प्रधानमन्त्रीबाट उद्घाटन हुने जानकारी दिए।

उपत्यकावासीलाई मेलम्चीको पानी सहज वितरण गर्न सम्पूर्ण तयारी पूरा भएको हो। मेलम्ची खानेपानी आयोजना काठमाडौँ ल्याउने परिकल्पना तथा घोषणा पूर्वप्रधानमन्त्री भट्टराईले गरेका थिए। उपत्यकावासीलाई भविष्यमा पानीको अभाव नहोस् भन्दै स्वर्गीय भट्टराईले २०५१ सालको संसदीय निर्वाचनमा आफ्नो प्रतिबद्धता पत्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने उल्लेख गरेका थिए।

यसैको स्मरण गर्दै नेपाल सरकारले शुन्दरीजल स्थित प्रशोधन केन्द्र परिसरमा स्वर्गीय भट्टराईको सालिक स्थापना गर्ने भएको हो।

सन २००७ देखि निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजना गत असार १ र साउन १७ गते आएको बाढीले ठूलो क्षति पुर्याएको थियो । लामो समयदेखि मेलम्चीको पानी आउने आशमा रहेका उपत्यकावासी बाढीका कारण आयोजना नै क्षतिग्रस्त बनेपछि निरास बनेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले क्षतिग्रस्त आयोजना सफाइ तथा मर्मत चैत मसान्तभित्र मेलम्ची खानेपानी सञ्चालन गर्न खानेपानीमन्त्री उमाकान्त चौधरीलाई निर्देशन दिएका थिए। मन्त्री चौधरीले समय सीमाभित्र नै काम सम्पन्न गर्न कार्ययोजना तथा नियमित निरीक्षण तथा निगरानीसहित काम अघि बढाएका थिए।

प्रतिक्रिया