बारको अध्यक्षमा गोपालकृष्ण घिमिरेको अग्रता कायमै


काठमाडौँ – नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ ।

हालसम्म ६ हजार मतगणता हुँदा घिमिरेले ३ हजार ७२८ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले १ हजार ९७७ मत प्राप्त गरेका छन् ।

नेपाल बार एसोसिएसन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार काठमाडौँ केन्द्रको अब १ हजार ३०० मत गणना गर्न बाँकी छ । शुक्रबार दिउँसो नै सम्पूर्ण काम सक्ने तयारी छ ।

हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता रहेको छ । महासचिवमा अञ्जिता खनाल ३ हजार १७५ उनको प्रतिस्पर्धी केदारप्रसाद कोइराला २ हजार ३४५ रहेको छ । कोषाध्यक्ष भरतबहादुर राउतले ३ हजार ४७५ मत र उनको प्रतिस्पर्धी जगतबहादुर कार्कीले २ हजार १८८ मत प्राप्त गरेका छन् ।

मंगलबार बिहानदेखि मतगणना सुरु भएको थियो । शुक्रबार बिहान ९ बजेदेखि पुनःमतगणना प्रारम्भ गरिने छ भने अन्तिम नतिजा पनि आउने छ ।

बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा ९ हजार ७०८ जना अधिवक्ता मतदाता रहेका थिए । तीमध्ये ७ हजार ४२९ मत खसेको थियो ।

प्रतिक्रिया