‘कालिका कप’ भलिबल शुरू


बागलुङ – बागलुङमा आकर्षक राशिको ‘कालिका कप’ खुला भलिबल प्रतियोगिता बिहीवारदेखि शुरू भएको छ ।चैत्राष्टमी मेलाका अवसरमा आयोजित प्रतियोगिताको गण्डकी प्रदेशका भूमि, कृषि, सहकारी तथा गरीबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले उद्घाटन गरे ।

मेलाको मुख्य आकर्षणका रूपमा रहेको भलिबल प्रतियोगितामा १७ टोलीले सहभागिता जनाएको खेल संयोजक अर्जुन खड्काले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पहिलो हुने टोलीले ट्रफीसहित ३ लाख, दोस्रोले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

विगतको तुलनामा यसपालि पुरस्कारको राशि बढाइएको हो । कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गर्दै आएको चैत्राष्टमी मेलामा भलिबल प्रतियोगिता निरन्तर समावेश हुँदै आएको छ । खुला प्रतियोगिता रहेकाले बाहिरी जिल्लाका खेलाडी टोलीले पनि प्रतियोगितामा भाग लिएको खेल उपसमितिका सदस्य किशोर थापाले बताए ।

‘आज उद्घाटन खेल मात्र भयो, अरु खेल शुक्रवार बिहानैदेखि शुरू हुन्छन्, फाइनल स्पर्धा मेलाको अन्तिम दिन चैत २८ गते हुन्छ,’ उनले भने । खुला प्रतियोगिता भएकाले खेल रोचक र प्रतिस्पर्धात्मक हुने आयोजकले जनाएको छ ।

कोभिड–१९ ले विगत २ वर्षसम्म चैत्राष्टमी मेला रोकिएपछि भलिबल लगायतका प्रतियोगिता पनि प्रभावित बनेका थिए । अहिले महामारी थामिएर स्थिति सहज बनेपछि मेलाको आयोजना गरिएको हो ।

प्रतिक्रिया