आर्थिक संकटमा रहेको श्रीलंकालाई भारतले गर्‍यो सहयोग


काठमाडौं – आर्थिक संकटबाट गुुज्रिरहेको श्रीलंकालाई भारतले सहयोग गरेको छ । भारतले बुधबार श्रीलंकाका लागि पेट्रोल र डिजलको दुुई खेप पठाएको छ । श्रीलंकास्थित भारतीय दूतावासले ट्वीट गरेर यसबारे जानकारी दिएको हो । दूतावासका अनुसार ३६ हजार मेट्रिकटन पेट्रोल र ४० हजार मेट्रिक टन डिजेल श्रीलंका पठाइएको छ ।

भारतले हालसम्म श्रीलंकालाई २,७०,००० मेट्रिकटन इन्धन पठाएको जानकारी दूतावासले दिएको छ । भारतले इन्धनका अलवा श्रीलंकालाई अन्य कयौ किसिमका सहायता पठाइरहेको छ । यसमा अन्न र औषधी प्रमुख छन् ।

श्रीलंकाको सरकारले कयौं पटक भारतको यो सहयोगप्रति आभार व्यक्त गरेको छ । श्रीलंकाका कयौ परिचित हस्तीले भारतका तर्फबाट  श्रीलंकालाई भइरहेको सहयोगका लागि भारत सरकार  र प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् ।

ऋण तिर्न नसकेर झन्डै टाट पल्टने अवस्थामा पुगेको श्रीलंकाका लागि यति बेला कसरी हातमुख जोर्ने भन्ने चिन्ता मुख्य बनेको छ । कुनै समय विदेशी सहयोग लिन नचाहेको श्रीलंका यति बेला अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता संस्थासँग सहयोग लिन खोजिरहेको छ ।

दुई वर्ष अवधिमा विदेशी मुद्रा सञ्चिति ७० प्रतिशतले घटेर २.३१ अर्ब डलरमा झरेको छ । तर, यो वर्ष मात्रै उसले तिर्नुपर्ने कुल ऋण भने झन्डै ७ अर्ब डलर छ । डलर अभावमा उसले नाइजेरिया, जर्मनी र साइप्रसस्थित आफ्ना मिसनसमेत बन्द गर्नुपर्‍यो । आयात बढ्दै जाँदा यहाँको व्यापारघाटा चुलिँदै गएको थियो ।

सरकारले डलर प्रयोगमा बन्देज लगाएको छ, जसका कारण श्रीलंकाली जनता विदेशयात्रा गर्न सक्दैनन् । श्रीलंकाले एक वर्षअघि विदेशी मुद्राको सञ्चिति बढाउन आयातमा प्रतिबन्ध लगाएपछि औषधिसहित पाउडर दूध, चिनी, दाल, गहुँजस्ता अत्यावश्यक वस्तुको अभाव बढेको थियो ।

सेन्ट्रल बैंक अफ श्रीलंकाका अनुसार, सन् २०२१ को अन्त्यतिर आइपुग्दा श्रीलंकाको व्यापारघाटा अघिल्लो वर्षका तुलनामा झन्डै आधाले बढेर १.९ अर्ब डलर पुग्यो । सोही अवधिमा निर्यात करिब २० प्रतिशतले वृद्धि हुँदा आयात झन्डै ४७ प्रतिशतले बढ्यो । डिसेम्बर २०२१ मा निर्यात १.१६ अर्ब डलर र आयात २.२४ अर्ब डलर बराबरको थियो ।

 

प्रतिक्रिया