


पोखरा लेकसाइडमा नव वर्ष महोत्सव

पोखरा – होटल संघ पोखराको आयोजनामा १७ औं संस्करणको फेवा नव वर्ष महोत्सव हुने भएको छ । ‘पर्यटन, संस्कृति र खाना’ भन्ने नारासहित चैत ३० देखि बैशाख १ गते सम्म महोत्सव आयोजना गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
महोत्सव लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोक सम्मको मुख्य सडकमा आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । कोभिडका कारण दुई संस्करणको महोत्सव स्थगीत गरेपछि नयाँपन दिने उद्देश्यसहित करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव आयोजना गर्न लागिएको बताए।
शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न महोत्सवले थप टेवा पुर्याउने संघका पूर्व अध्यक्ष विकल तुलाचनले बताए । महोत्सवलाई सफल बनाउन संघका अध्यक्ष सुवेदीको संयोजकत्वमा विभिन्न उपसमिति समेत गठन गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुद्धारा पप कन्र्सटका साथै लोकदोहोरी, हास्यव्यङ्गय तथा नृत्य प्रतियोगिता मुख्य आकर्षकका रुपमा रहेको अध्यक्ष सुबेदीले जानकारी दिए । संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले महोत्सवसँगै भौतिक पूर्वाधारहरुको निर्माणले पोखरा आउने पर्यटकहरुको बसाई लम्ब्याउन सकिने बताए ।
महोत्सवका अवसरमा होटलहरुले ३० प्रतिशत छुटको व्यवस्था गरेको संघका महासचिव एवं प्रचारप्रसार संयोजक राजेन्द्र ढकालले जानकारी दिए । योसँग पर्यटनसँग सम्बन्धीत सबै क्षेत्रमा छुट र प्याकेजका कार्यक्रम ल्याउनका लागि छलफल चलिरहेको उनले बताए । महोत्सव सम्पन्न गर्न ३५ लाख खर्च लाग्ने संघले जनाएको छ ।

