

कुर्था-जयनगर रेल: आजबाट ९० रुपैयाँमा नेपालबाट भारत यात्रा गर्न सकिने

काठमाडौँ- जयनगर–कुर्था रेल्वे खण्डमा आजविहानदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका थिए। आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।
उनका अनुसार दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने छ। जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्ने छ। जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने समयतालिका निर्धारण गरिएको महाप्रबन्धक झाले जानकारी दिए।
जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको उनको भनाइ छ।
जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने छ। खुला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको महाप्रबन्धक झाले बताए।
जयनगरबाट कुर्थासम्म चल्ने रेल सेवाको नयाँ भाडादरसमेत कायम गरिएको छ । जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु ९० रुपैयाँ र एसी सिटमा ४५० रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

