त्रिकोणात्मक टी-२० : नेपालले मलेसियालाई दियो २२४ रनको लक्ष्य


काठमाडौं – त्रिकोणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भइरहेको खेलमा नेपालले मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ ।

दीपेन्द्र सिंह ऐरीले ११० रन बनाएपछि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर २२३ रन बनाएको हो ।

टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो ठूलो स्कोर हो । यसअघि नेपालले गत वैशाखमा त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्स विरुद्ध २३८ र २०१९ मा त्रिवि क्रिकेट मैदानमा नै १३औं सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो ।

दीपेन्द्र ओडीआई र टी-२० आईमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बने । यसअघि पूर्व कप्तान पारस खड्काले दुवै फर्म्याटमा शतक प्रहार गरेका थिए ।

दीपेन्द्रले ५७ बल खेल्दै १० चौका र ६ छक्का मद्दतमा अविजित ११० रन बनाए । यस्तै रोहित पौडेलले पहिल टी-२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरे । रोहितले ३४ बल खेल्दै ५ चौका मद्दतमा ५१ रन बनाए ।

दीपेन्द्र र रोहितले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए । ओपनर आसिफ शेखले १८ र कुशल भुर्तेलले १२ रन बनाए । आरिफ शेख २ रन बनाएर आउट भए ।

आदिल अन्सारीले १४ रन जोडे । अन्तिम बलमा आदिल रनआउट हुनुअघि दीपेन्द्रसँग ५९ रनको साझेदारी गरे । बलिङमा मलेसियाका लागि मुहम्मद वाफिक, पवनदिप सिंह, स्याज्रुल ईद्रुस र मुहम्मद अमिरले १/१ विकेट लिए ।

 

प्रतिक्रिया