स्थानीय निर्वाचन : महोत्तरीमा गठबन्धनमा दलहरूबीच मतभेद


महोत्तरी – आसन्न स्थानीय तहकाे निर्वाचन मिति नजिकिँदै गर्दा महोत्तरीका दलहरू चुनावी गठबन्धनको विषयमा छलफलमा जुटेका छन् । एमालेलाई पराजित गर्नेगरी गठबन्धन गर्नुपर्ने पक्षमा माओवादी केन्द्र देखिएको छ भने कांग्रेस भने आवश्यकताअनुसार तालमेल गर्ने निर्णय गरेको छ ।

का‌ंग्रेस महोत्तरीका सभापति नागेश्वर यादवका अनुसार जिल्लाका १५ पालिकामध्ये कमजोर पालिकाहरूमा गठबन्धन गर्ने र संगठनिक संरचना बलियो भएका पालिकाहरूमा एक्लाएक्लै लड्ने कांग्रेसको योजना छ । उनले भने, ‘आवश्यकताअनुसार तालमेल गर्नेछौँ ।

तर केन्द्रको जस्तै जिल्लामा पनि गठबन्धन गर्ने सम्बन्धमा मतविभाजन भएको छ  । कांग्रेस महोत्तरीमा  कुनै पनि हालतमा चुनावी गठबन्धन नगर्ने पक्षमा छन् । जिल्ला नेता शम्भु पाठकले महोत्तरीको पालिकाहरूको गठबन्धन गर्दै नगर्ने बताउँछन् ।

माओवादी केन्द्र पनि गठबन्धनको लागि संघन बहसमा जुटेको छ । अघिल्लो निर्वाचनमा तीनवटा मात्र पालिका जितेको माओवादी केन्द्र जसरी पनि ५ देखि ६ वटा पालिका जित्ने योजनामा देखिएको छ । अघिल्लो निर्वाचनमा बर्दिबास नगरपालिका, सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिका माओवादी केन्द्रले जितेको थियो ।

माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाका अनुसार तीन पालिका जित्ने निश्चित भए पनि यसपालि यो संख्या बढाएर ६ पुर्‍याउने माओवादी केन्द्रको लक्ष्य छ । उनले भने, ‘माओवादी केन्द्र गठबन्धनकै पक्षमा हो, हामी संगठनिक संरचनाअनुसार लचिलो बन्नेछौँ ।´

यता लोसपा, जसपा पनि गठबन्धन कै पक्षमा छन् । जिल्लाका १५ पालिकामध्ये सबैभन्दा बढी पालिका जितेको तत्कालीन राजपा अहिले राजपा रहेन । जसपा समेत फुटेर लोसपा बनेको अवस्थामा जिल्लाका नेता कार्यकर्ताहरू पनि गठबन्धनको पक्षमा छन् ।

`२० चैतपछि बस्ने बैठकले टिकट र गठबन्धनको विषयमा टुङ्ग्याउनेछ,´ लोसपा महोत्तरीका अध्यक्ष रामाबाबु  यादवले भने । सत्ताघटक जसपा भने गठबन्धनको पक्षमा देखिए  पनि कोसँग गठबन्धन गर्ने भन्ने विषयमा अझै अन्याेल छ । जसपा महोत्तरीका अध्यक्ष महेश यादवले के गर्ने भन्ने विषयमा निर्णयमा पुग्न नसकिएको बताए ।

कांग्रेसमा पालिकाहरूमा एक्लै लड्ने  वा गठबन्धन गर्ने भन्ने विषयमा मतविभाजन भएको देखिएको छ । बलियो संगठनिक संरचना रहेकै ठाउँमा पनि कतिपय नेताहरूले गठवन्धनको जरुरी भएको बताउँदै आएका छन् ।

जिल्लाको उत्तरी क्षेत्र बर्दिबास नगरपालिका संगठनिक संरचनाका हिसावले बलियो नै मानिन्छ । अघिल्लो निर्वाचनमा पनि झिनो मतले मात्र माओवादीसँग पराजय बेहोरेको थियो । अघिल्लो निर्वाचनको तुलनामा का‌ंग्रेसप्रतिको आकर्षण बढ्दो भएको हुनाले बर्दिबास नगरपालिकामा कांग्रेसको जित निश्चित भएको नेताहरूले दाबी गरे पनि गठबन्धनको पक्ष र विपक्षले नगरपालिकामा मतभेद देखिएकाे छ ।

स्थानीय नेता चिरन्जीवी हमाल गठबन्धनको पक्षमा छन् भने अर्का नेता प्रल्हाद क्षेत्री गठबन्धनको विपक्षमा छन् ।

यता  एमाले पनि गठबन्धनको विषयमा छलफलमा जुटेको छ । केन्द्रबाट गठबन्धनको विषयमा कुनै मापदण्ड नबनेकाले पनि का‌ंग्रेसबाहेक अन्य दलहरूले जिल्लामा निर्णय लिन नसकेको हुन् ।

नेकपा एकीकृत समाजवादी भने संगठनिक संरचनाका हिसावले पालिकाहरूमा लचिलो बनेर अगाडि बढ्ने देखिन्छ । `अब पालिकाहरूमा कस्तो मापदण्ड बनाएर अगाडि बढ्ने भन्ने समबन्धमा छलफल हुँदै छ,´ नेकपा एस आर्थिक विभागका केन्द्रीय सदस्य तथा महोत्तरीका नेता सुरेश राउतले भने ।

प्रतिक्रिया