

अमेरिकाले दैनिक थप १० लाख ब्यारेल तेल बजार पठाउने

काठमाडौं – रुस–युक्रेन युद्धका कारण विश्व बजारमा उर्जा संकट बढेपछि अमेरिकाले आफ्ना रणनीतिक भण्डारबाट ठूलो मात्रामा तेल निकाल्ने भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले उर्जाको मूल्य उच्च रुपमा वृद्धि भएपछि मूल्य सन्तुलनका लागि ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका हुन्। बाइडेनको आदेशअनुसार आउँदो ६ महिनामा अमेरिकी तेल भण्डारबाट १८ करोड ब्यारेलसम्म तेल निकालिने भएको छ। जुन सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च हो।
अमेरिकाले आफ्नो भण्डारबाट तेल निकाल्ने घोषणा गरेलगत्तै विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ। अमेरिकाले हाललाई दैनिक १० लाख ब्यारेल तेल निकाल्नेछ। तर दैनिक १० लाख ब्यारेल तेलले विश्वको उर्जा संकट समाधान नहुने कतिपयको भनाइ छ।
राष्ट्रपति बाइडेनले भने अमेरिकी तेल आपूर्ति बढाउन थप कदम चालिने बताएका छन्। युक्रेन आक्रमणपछि पश्चिमा देशहरुले रुसको तेलमा प्रतिबन्ध लगाउँदा विश्वमा उर्जा संकट चुलिएको हो। रुस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो।
संसारकै धेरै कच्चा तेल उत्पादनमा साउदी अरेबिया र रुसबीच प्रतिस्पर्धा छ । रुसले प्रतिदिन ७० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो । यसको आधाजसो युरोपमा रुसी तेल निर्यात हुन्थ्यो । तर युक्रेनमाथि एकतर्फी आक्रमण सुरु गरेपछि रुसविरुद्ध मात्र नभई रुसी कम्पनीमाथि समेत अमेरिका र युरोपले प्रतिबन्ध लगाएको छ । यसमाथि ती देशमा रुसी समग्र सामान नकिन्ने लहर नै चलेको छ । पेट्रोलियम निर्यातक देशहरुको समूह (ओपेक), रुस र तिनीहरुको पक्षराष्ट्र (ओपेक प्लस)ले पछिल्लो पटक गरेको प्रतिदिन चार लाख ब्यारेल प्रतिदिन तेल उत्पादनसम्बन्धी सम्झौतालाई कायमै राखेका छन् ।
यसैबीच, साउदी अरेबियाले रुससहितको तेल नियार्तक देशहरुको संगठन (ओपेक प्लस) सँगको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता पुनः दोहो-याएको छ । साउदी सरकारको मन्त्रिपरिषद्ले १० मुख्य तेल उत्पादक राष्ट्र र रुसबीचको धेरै तेल उत्पादन गरी बजार पठाउने सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको हो । अहिले कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय अमेरिकी डलर नाघेको छ । त्यस्तै साउदी अरेबिया सरकारले रुस–युक्रेन द्वन्द्व थप नचर्काउन पनि आग्रह गरेको छ ।

