महामारी र विपद् सामना गर्न संयुक्त तयारी गरौँ :प्रधानमन्त्री देउवा


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण बिमस्टेक सदस्य राष्ट्रहरू समस्यामा परेको भन्दै आगामी दिनमा यस्ता महामारी र विपद्को सामना गर्न संयुक्त रूपमा तयारी गर्नुपर्ने बताएका छन् ।

श्रीलङ्काको कोलम्बोमा भइरहेको पाँचौँ बिमस्टेक समिटमा काठमाडौँबाट भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘बिमस्टेकले यस क्षेत्रलाई महामारीबाट अझ राम्रोसँग पुनस् स्थापना गर्न र भविष्यमा कुनै प्रकोप र विपद्बाट जोगिन राम्रो तयारीका लागि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’

कोरोना महामारीका कारण बिमस्टेक सदस्य राष्ट्रका लाखौँ नागरिकले ज्यान गुमाएका, गरिबी र बेरोजगारीको समस्या देखिएको भन्दै देउवाले महामारीबाट पुनर्स्थापनाका लागि संयुक्त प्रयास आवश्यक रहेको बताए ।

महामारी सामना गर्न हरित, लचिलो र समावेशी पुनर्स्थापनाको योजना बनाउनुपर्ने पनि प्रधानमन्त्री देउवाले बताए । त्यसका लागि खोपको पर्याप्तता, स्वास्थ्य प्रणालीमा लगानी र सामाजिक सुरक्षाका योजनालाई बढावा दिनुपर्ने भन्दै उनले संरचनात्मक सुधारका साथै भौतिक र मानवीय पुँजीमा लगानी बढाउनुपर्ने बताए ।

बिमस्टेक क्षेत्र जलवायु परिवर्तनका कारण पनि खतरामा रहेको भन्दै यस विरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने देउवाले बताए । प्रधानमन्त्री देउवाले बिमस्टेक क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन पर्वद्धन गर्नुपर्ने बताएका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिएका छन् । उनले बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, धर्मको प्रचार सुरु भएको सारनाथ र बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरलाई जोड्ने गरी बुद्धिस्ट सर्किट योजना अघि सारिए पनि सञ्चालनमा भने आएको छैन ।

त्यस्तै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका सम्बन्धमा पनि कडा कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया