किसानको बारीमा र व्यापारीको गोदाममा उज्यालो पसेको अनुभुति हुने गरी बजेट ल्याउछौंः अर्थमन्त्री शर्मा


काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/ ८० को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताएका छन् ।
नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको बातावरण, निजी क्षेत्रमैत्रीलगायतका विषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने बताए ।

कार्यक्रममा बोल्दै उनले अहिलेको अर्थतन्त्रका बारेमा धेरै चिन्ता भइरहेको भन्दै बजेटले अर्थ व्यवस्थालाई नयाँ रुप दिने दाबी गरे ।

उनले भने, ‘म बजेट मार्फत किसानको बाँझो खेततर्फ फर्केन चाहन्छु, त्यता नफर्कि उत्तादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सकिँदैन भन्ने लाग्छ’ उनले भने, ‘निर्यातलाई अब विस्तारै बढाउँदै लैजानुपर्छ । निर्यात बढाउन हामीसँग उत्पादनको अथाहा सम्भावना छ ।’ शर्माले भने, ‘किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरून्, व्यापारीले आफ्नो गोदाममा उज्यालो पसेको खुसी पाउन् । हामी यो दृष्टिकोण राखेर बजेट निर्माणमा केन्द्रित छौं ।’

चालु आवको ८ महिनामा कुल वैदेशिक ब्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको भन्दै आगामी दिनमा यो तथ्यांकलाई थप सुधार गर्न उत्पादन वृद्धिको विकल्प नरहेको बताए । चालू आबको ८ महिनाससम्ममा निर्यातले नयाँ किर्तिमान राख्दै एक खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँको निर्यात भएको थियो । जुन अघिल्लो वर्षको भन्दा ८२.९० प्रतिशत बढी हो ।

बढ्दै गएको व्यापार घाटा कम गर्न थप के कस्ता काम गर्न सकिन्छ भनेर उनले सुझाव पनि मागेका थिए । ‘आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुपर्छ । हाम्रो साधन स्रोतको अधिकतम प्रयोग गरेर पूँजी निर्माण गर्नुपर्नेछ । तर गर्ने कसरी ? मलाई यस विषयमा सुझाव चाहिएको छ’ उनले भने ।

उनले बाह्क कारण अर्थतन्त्रमा असर परेको तर अर्थविद्हरुले व्यक्तिगत रुपमा आफूनो बारेमा नकारात्मक टिप्पणी गरेको बताए । ‘केही विद्धान्साथीहरुले गरेको टिप्पणी सुनेको छु । कुन विश्वविद्यालयबाट ज्ञान हाँसिल गर्नुभएको हो, थाहा छैन । त्यो विश्वविद्यालयको नै बेइज्जत हुने देख्छु’ उनले भने ।

२५ भदौमा सार्वजनिक प्रतिस्थापन विद्येयकमार्फत चालू आबको आर्थिक वृद्धिदर ७ प्रतिशत हुने लक्ष्य लिएको र स्थिति सामान्य भएको भए लक्ष्य भन्दा बढी आर्थिक वृद्धिदर हाँसिल हुने स्थिति रहेको उनले दाबी गरे । ‘तर, बजेट घोषणा लगत्तै केही समयपछि कात्तिक पहिलो साता बेमौसमे बर्षात्ले धान बालीमा ठूलो क्षति भयो । अहिले युक्रेन–रुस युद्धले विश्व अर्थतन्त्रसँगै नेपाालको आयातुमखी अर्थतन्त्रलाई पनि असर गरेको छ’ उनले भने, ‘यसरी बाह्य कारणले ठूलो असर गर्दा हामीले सोचेजस्तो आर्थिक अवस्थामा देशको अर्थतन्त्रलाई राख्न नसकिएको विषय सबैले बुझ्नुपर्छ ।’

उनले सरकारले नियमन गर्न सक्ने ठाउँसम्म पुगेर अर्थतन्त्रलाई सम्हालिरहेको पनि जानकारी दिए । साथै, ६.७ महिनासम्मको बस्तु तथा सेवा आयात गर्न धान्ने विदेशी मुद्रा संचित रहेकाले अहिले नै आत्तिनुपर्ने अवस्थामा नरहेको बताए ।

प्रतिक्रिया