प्रधानमन्त्री र एनआरएनएको नेतृत्वबीच भेटवार्ता : १० अर्बको एनआरएन नेपाल विकास कोष कार्यान्वयनदेखि नागरिकतासम्मको माग


काठमाडौँ- गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षलगायत अन्य पदाधिकारीहरूले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन् । प्रधानमन्त्रीपछि उनीहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै भेटेका हुन् । उनीहरूले दुवैलाई दशौँ विश्व सम्मेलनको छलफलबाट निस्केको निचोडसहित ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा गैर आवासीय नेपाली नागरिकता संसद्‌बाट छिट्टै पारित गर्न, पशुपति क्षेत्रमा एक सय कोठाको आधुनिक सुविधायुक्त एक वृद्धाश्रम बनाउन जग्गा उपलब्ध गराई दिन, वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सामाजिक सुरक्षा कार्यान्वयन तथा कम्तीमा १० अर्बको एनआरएन नेपाल विकास कोषको कार्यान्वयनमा देखिएका वाधा व्यवधान हटाउन आग्रह गरिएको छ।

नवनिर्वाचित अध्यक्षहरू कुल आचार्य, बद्री केसी तथा रबिना थापा, निवर्तमान अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष भवन भट्टलगायत नवनिर्वाचित पदाधिकारीहरूले नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेस सभापति तथा प्रधानमंत्री देउवासंग भेटघाट गरेका थिए। प्रधानमन्त्री देउवाले एनआरएनहरूलाई मिलेर अगाडि बढ्न सुझाव दिए।  उनले एनआरएनहरू नेपालका अवैतनिक राजदूत हुन् भन्दै उनीहरुलाई विदेशी लगानी भित्र्याउन आग्रह गरे।  उनले नेपालको विकासमा एनआरएनहरुले धेरै ठूलो योगदान पुर्‍याएको भन्दै एनआरएनहरूलाई साथ दिन सरकार तयार रहेको बताए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एनआरएनहरुले उठाउंदै आएको दोहोरो नागरिकता, मतदानको अधिकार लगायतका विषयमा कांग्रेस पार्टी सकारात्मक रहेको बताए। कार्यक्रमको सुरुमा नवनिर्वाचित अध्यक्ष कुल आचार्यले संघको तर्फबाट एक ज्ञापनपत्र पढेर सुनाएका थिए।  यस अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष  रबिना थापाले विदेशबाट फर्केर आएका महिलाहरुका लागि आश्रय गृह (शेल्टर) खोल्न सरकारले सहयोग गर्नुपर्ने बताइन्।

अर्का नवनिर्वाचित अध्यक्ष डा बद्री केसीले संघले कोभिडको बेला ५० देशमा २ हजा पाँच सयभन्दा बढी नेपालीहरूलाई सहयोग गरेको बताए।  उनले संघले रुस-युक्रेन युद्धको चपेटामा परेका ५०० भन्दा बढी नेपालीहरुलाई एक हप्ता भित्रै उद्धार गरेको पनि जनाए।

 

प्रतिक्रिया