


त्रिकोणात्मक टी-२० सिरिज : आज नेपाल र मलेसिया भिड्दै

काठमाडौँ- त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज मलेसियासँग खेल्दैछ। त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच दिउँसो १२:३० देखि खेल सुरु हुनेछ।
सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गर्दै सुखद सुरुवात गरेको छ। आज मलेसियालाई घरेलु मैदानमा हराएर जितलाई निरन्तरता दिन चाहन्छ।
त्यसैगरी पपुवा न्युगिनीलाई मंगलबार पराजित गरेको मलेसिया पनि नेपाललाई उसकै घरेलु मैदानमा हराउने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।
टी-२० मा नेपाल र मलेसियाबीचको ६ पटकको प्रतिस्पर्धामा पाँच खेलमा नेपालले जितेको छ भने मलेसियाले एक जित हासिल गरेको इतिहास छ।

