


सर्लाहीको कौडेना गाउँपालिकामा अख्तियारको छापा

सर्लाही- सर्लाहीको कौडेना गाउँपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। महोत्तरीको बर्दिवासस्थित आयोगको कार्यालयबाट पुगेको टोलीले गाउँपालिका कार्यालयमा छापा मारेको हो।
आर्थिक वर्ष ०७८र७९ मा कोरोना संक्रमण कालमा गाउँपालिका क्षेत्रका विपन्न परिवारलाई राहत वितरण गर्दा आर्थिक हिनामिना भएको उजुरीका परेपछि अख्तियारले गाउँपालिका कार्यालयमा छापा मारेको हो।
अख्तियारको टोलीले गाउँपालिका कार्यालयबाट आर्थिक सहायता वितरणसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिएर गएको छ। गाउँपालिकाले विपन्न परिवारलाई प्रति परिवार १० हजार रूपैयाँका दरले नगदै वितरण गरेका कागजात तयार गरेको स्रोतले जनाएको छ। तर, विपन्न परिवारले आफूहरूले रकम नपाएको भन्दै अख्तियारमा उजुरी गरेका थिए।
आरोप छानबिनका लागि कागजात नियन्त्रणमा लिएको आयोगका एक अधिकारीले जानकारी दिए। कौडेना सर्लाहीको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रमा अवस्थित गाउँपालिका हो।

