कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित


काठमाडौं –  प्रतिनिधिसभाको अर्थ समितिको बैठक स्थगित गरिएको छ । काेरम नपुगेपछि समोबारको  बैठक स्थगित भएको सांसद सत्य पहाडीले जानकारी दिइन् । समितिले सोमबार अर्थ मन्त्रालयसँग आगामी आर्थिक वर्षको बजेटको तयारीका सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने सूचना जारी गरेको थियो ।

प्रि–बजेट छलफलका लागि बोलाइएको बैठक पर्याप्त संख्यामा सांसदहरु उपस्थित नभएका कारण बस्न नसकेको हो । प्रतिनिधिसभा नियमावलीअनुसार समितिका कुल सदस्यको ५१ प्रतिशत उपस्थित नहुँदासम्म बैठक अगाडि बढ्न सक्दैन। ५१ प्रतिशत सदस्य उपस्थित भएमात्र गणपूरक संख्या मानिने उल्लेख नियमावलीमा उल्लेख छ।

आइतबारका दुई बैठकमा आएका सुझाव सोमबार मन्त्रालयका अधिकारी समक्ष राख्ने र त्यहाँ पनि उठेका कुरालाई एकीकृत पारेर सरकारलाई समितिका निर्णय भन्दै सुझाव पठाउने समितिले तयारी गरेको थियो ।

जेठ १५ गते वार्षिक बजेट संसद् बैठकमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। अर्थ मन्त्रालय बजेटको तयारीमा जुटिसकेको छ भने संसदीय समिति तथा अन्य सरोकारवाला निकायहरुले प्रि–बजेट छलफल चलाइरहेका छन्।

प्रतिक्रिया