

चुनावी गठबन्धनबारे कांग्रेसले आज संस्थागत निर्णय गर्दै

काठमाडौं– कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्दै छ। आगामी स्थानीय चुनावमा सत्तारुढ दलहरूसंग तालमेल गर्ने वा नगर्ने टुंगो लगाउँन कार्यसमितिको बैठक बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजेपछि बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
शुक्रबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेपछि गठबन्धन गर्ने वा नगर्ने बारे टुंगो लाग्ने छ। कांग्रेस केन्द्रीय सदस्यहरू र प्रदेश सभापतिले स्थानीय अवस्थाबारे ब्रिफिङ गरिरहेका छन्। शुक्रबार २७ केन्द्रीय सदस्य र आइतबार ५४ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए।
आज बाँकी केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेपछि कांग्रेसले स्थानीय चुनावका विषयमा निर्णय लिनेछ। बैठकमा पार्टी सभापति शेरबहादुर देउवा पक्षीय केन्द्रीय सदस्यले सत्तारुढ दलबीच तालमेल गरेर चुनावमा जानुपर्ने धारणा राखेका छन् भने डा. शेखर कोइराला पक्षीय सदस्यहरूले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन्।

