आज पनि कांग्रेस केन्द्रीय समिति बैठक, चुनावमा गठबन्धन गर्ने निर्णय हुने सम्भावना


काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सोमबार पनि बस्दै छ। केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी रहेकाले बैठक आज सोमबार पनि बस्न लागेको हो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११:३० बजे बस्ने छ।

शुक्रबार प्रारम्भ भएको बैठकमा आइतबार पनि स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा भएको छ। यस्तै, संसदीय समिति गठनलगायत विषयमा छलफल भएको कांग्रेस मुख्यसचिव पौडेलले जानकारी दिए।

सभापति देउवाले निर्वाचनमा गठबन्धन गर्नुपर्ने अडान राखेका छन्। डा.शेखर कोइराला समूहले भने गठबन्धन गर्न नहुने भनाइ राखेका छन्। तर, सभापति देउवा जसरी पनि गठबन्धन गर्नुपर्ने अडानमा रहेकाले कांग्रेस केन्द्रीय समितिको बैठकबाट गठबन्धन गर्ने निर्णय हुने सम्भावना छ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि कांग्रेसले गत फागुन २९ देखि यही चैत २९ गतेसम्म पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आइतबार केन्द्रीय सदस्यहरु एनपी साउद, जीवनबहादुर शाही, दीपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कँडेल, डा डिला सङ्ग्रौला, सरिता प्रसाईं, अमृत अर्याल, डा गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, ध्रुव वाग्ले, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर केसी र उमेशजङ्ग रायमाझीले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

यसैगरी बैठकमा केन्द्रीय सदस्यहरु अब्दुल सत्तार, उदयशम्शेर राणा, जीतजङ्ग बस्नेत, राजीव ढुङ्गाना, राजेन्द्रकुमार केसी, अर्जुनजङ्गबहादुर सिंह, राजीवविक्रम शाह, डा चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मीकि, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, रङ्गमती शाही, मञ्जुकुमारी यादव, गुरु बराल, प्रतिमा गौतम, जावेदा खातुन जागा, नागिना यादव, नानु बास्तोला, भीम पराजुली, कान्तिका सेजुवाल, गङ्गालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, सुशीला ढकाल (आचार्य), रुपा विक, विद्यादेवी तिमिल्सिना र जीवन रानाले पनि आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया