देउवा–शेखरबीच सार्वजनिक मञ्चमै चल्न थाल्यो जुहारी


काठमाडौं । आगामी निर्वाचनमा सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर जाने कि एक्लै निर्वाचनमा होमिने भन्ने विषय नेपाली कांग्रेसभित्र पेचिलो बन्दै गएको छ ।

कांग्रेसको संस्थापन पक्ष स्थानीय, प्रदेश र केन्द्रीय तह र सत्ता गठबन्धन दल चुनावी तालमेलको पक्षमा छ भने संस्थापन इतर कसैसँग तालमेल नगरी एक्लै चुनावी मैदानमा होमिनुपर्ने पक्षमा छ । यो विषयमा कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पनि पक्ष–विपक्षमा बहस जारी छ ।

केन्द्रीय समितिमा नै तालमेलका विषयमा बहस जारी रहँदा शनिबार एकै मञ्चमा सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच घोचपेच भएको हो । राजधानीमा बीपी स्मृति सामुदायिक अस्पतालको १४औं वार्षिक साधारणसभालाई शनिबार दुवै नेताले सम्बोधन गरेका हुन्। प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाभन्दा अघि बोलेका कोइरालाले पार्टीभित्रका गुट उपगुटलाई मिलाएर चुनावमा अघि बढ्दा निर्वाचन परिणाम सजिलै पार्टीको पक्षमा रहने अवस्था भएकाले कसैसँग तालमेल गर्नु आवश्यक नभएको भन्दै पार्टीलाई एक ढिक्का बनाउनेतर्फ ध्यान दिन सभापतिलाई व्यंग्य गरे ।

‘सबैभन्दा पहिला पार्टीलाई आन्तरिक रूपमा मजबुत र एकजुट बनाउनुपर्छ, त्यसो गर्न सके कांग्रेस बलियो हुन्छ, यसलाई लत्याएर गठबन्धन गठबन्धन भनिरहनु हुन्न’, कोइरालाले भने ।

सोही क्रममा कोइलालाले गठबन्धन तालमेलबाटै अघि बढ्ने हो भने नेपाली कांग्रेसको हालत पनि भारतको कांग्रेस आईको जस्तो हुने भन्दै सभापतिलाई त्यतातर्फ पनि सोच्न भन्दै चेतावनी दिए ।

‘एमाले र माओवादी फेरि पनि मिल्न सक्छन् तर गठबन्धन मात्रै गर्दा नेपाली कांग्रेसको पनि कांग्रेस आईको हालत नहोला भन्न सकिन्न, गत १० वर्षमा भारतमा कांग्रेस आई गठबन्धन गर्दागर्दै चारैतिर कमजोर भएको छ, यसलाई बुझ्नुपर्छ’, कोइरालाले भने ।

सभापति देउवाले भने आफू अघि बोलेका कोइरालालाई जवाफ दिँदै एमाले र माओवादी मिल्दा शेखर कोइरालाले चुनाव हारेको भन्दै तालमेलको आवश्यकता त्यस कारण पनि रहेको जिकिर गरे ।

‘एमाले र माओवादी फुटिहाले, अब हामी जितिहाल्छौं भन्दा फेरि मिलिदिए भने के हुन्छ ? मिल्न दिने भए मिल्न दिऊँ, सभापतिको चाहना सबै नेताले जितून् भन्ने नै हुन्छ, शेखरजीले पनि हार्नु भएको हो नि’ देउवाले कोइरालाप्रति लक्षित गर्दै भने ।

सो क्रममा देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी कमजोर हुने र हार्ने अवस्था आउँदा जता पनि मिल्ने खतरा रहेको भन्दै त्यतातर्फ पनि ध्यान दिनुपर्ने भनेका छन् ।

‘प्रचण्ड कमजोर हुने र हार्ने ठाउँमा लड्दैनन्, जहाँ सजिलो हुन्छ, त्यही मिलिदिन्छन्,’ देउवाले अघि भने ।देउवाले डा. कोइरालाले गुटउपगुटको विषय उठाएप्रतिसमेत लक्षित गर्दै कांग्रेसमा हिजो पनि गुट रहेको र आज पनि गुटमुक्त हुने अवस्था नरहेको भन्दै कोइरालाप्रति नै व्यंग्य गरे ।

प्रतिक्रिया