चिनियाँ विदेशमन्त्रीको आजको भ्रमण तालिका : राष्ट्रपति भण्डारी, ओली र प्रचण्डसँग भेटेर आजै स्वदेश फर्किने


काठमाडाैँ- नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले आज (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै छन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार वाङले अहिले बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नेछन्।

त्यसपछि चिनियाँ विदेशमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बिहान ११:१० देखि ११:४० बजेसम्म पूर्व प्रधानमन्त्री ओलीसँग होटल हायातमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

अन्त्यमा भने चिनियाँ विदेशमन्त्री वाङले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई होटल हायातमै दिउँसो ११:४५ देखि १२:१५ सम्म भेट्नेछन्।

चिनियाँ विदेशमन्त्री तीन दिनको नेपाल बसाइपछि सकेर आइतबार ३ बजे बेइजिङका लागि उड्ने कार्यक्रम छ।

परराष्ट्र स्रोतका अनुसार विदेशमन्त्री वाङ नेतृत्वको २५ सदस्यीय टोलीमा दुई जना चिनियाँ सहायक मन्त्रीसहितका वरिष्ठ सरकारी अधिकारी छन्। सबै उच्चस्तरीय भेटवार्तामा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी पनि सहभागी भइरहेकी छन्।

यसअघि शनिबार वाङले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई छुट्टाछुट्टै र संयुक्त भेटवार्ता गरिसकेका छन्।

प्रतिक्रिया