

नयाँ नगरको ४४ हजार रोपनी जग्गा फुकुवा गर्न सिफारिस

काठमाडौँ- काठमाडौँ उपत्यकामा घोषणा गरिएको नयाँ नगर निर्माणका लागि रोक्का रहेको एक लाख रोपनीमध्ये ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा बिहीबार बसेको भौतिक विकास समितिकोे १७औँ बैठकले काठमाडौँ र भक्तपुरका पाँच नगरपालिकाभित्र पर्ने ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारले २०७४ बैशाख २४ गते काठमाडौं उपत्यको चार क्षेत्रमा नयाँ नगर निर्माण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सरकारले एक लाख रोपनी जग्गाको कित्ताकाट रोक्का राख्ने निर्णय गरेको थियो । समितिको बैठकले काठमाडौंको पूर्वी नयाँ शहरी योजना स्वीकृतको लागि मन्त्रीपपिरषद्मा पठाउन सिफारिस गरेको छ ।
समितिले एक लाख रोपनीमध्ये ५६ हजार रोपनीमा नयाँ नगर निर्माण गर्न सकिने भएकाले जग्गा कित्ताकाट रोक्का यथावत नै राखेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं जिल्लाका कागेश्वरी मनोहरा नगरपालिका र शंखरापुर नगरपालिका, भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिकाको नयाँ नगर विकास योजना स्वीकृत गर्ने सिफारिस गरेको छ । प्राधिकरणले पाँच वटा नगरपालिकाभित्र निर्माण हुने नयाँ नगरको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नयाँ नगरको लागि रोक्का राखिएको एक लाख रोपनी जग्गा मध्ये ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रीपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको बताइन ।
बैठकमा शहरी विकास मन्त्रालयका बागमती प्रदेशका मन्त्री कृष्णलाल भँडेल, राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारी, शहरी विकास सचिव डा. रमेश प्रसाद सिंह, पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश आचार्य, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकाल, नायब आयुक्त नारायणप्रसाद भण्डारी, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापालगायतको उपस्थिति थियो ।

