
एमाले केन्द्रीय कमिटी बैठकमा सातै प्रदेशका अध्यक्षको प्रतिवेदन पेस : प्रदेश २ बाहेक सबैमा एमाले पहिलो, कांग्रेस दाेस्राे
आजदेखि ओलीसहितका नेताले पेस गरेको प्रतिवेदनमाथि छलफल हुने
काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेको जारी केन्द्री कमिटीको बैठकको पहिलो दिन विभिन्न प्रतिवेदन पेश भएका छन्। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। त्यसैगरी महासचिव शंकर पोखरेलले पार्टी हेडक्वार्टर, विभाग र संगठनहरुको प्रतिवेदन बैठकमा राखेका छन्।
बुधबारको बैठकमा देशका सातै भौगोलिक प्रदेशका अध्यक्षहरुले आगामी निर्वाचनमा एमालेको पोजिसनसहित अहिलेको अवस्थाबारे विस्तृत रिपोर्टिङ गरे।एमाले उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार प्रदेश अध्यक्षबाट रिपोर्टिङका क्रममा प्रदेशको संगठनात्मक अवस्था, कमिटी अधिवेशन, पार्टीमा प्रदेशको स्थिति, अन्य दलसँगको शक्ति सन्तुलन र पार्टी प्रवेश अभियानबारे व्याख्या भएको छ।
उपमहासचिव गुरुङका अनुसार मधेश प्रदेशबाहेक अन्य ६ वटा प्रदेशमा एमालेको अवस्था अहिलेसम्म पहिलो रहेको रिपोर्टिङ अध्यक्षहरूबाट भएको पनि जानकारी दिए।
‘सबै प्रदेश कमिटी अध्यक्षहरुले पार्टीको अवस्थाबारे विस्तृतमा रिपोर्टिङ गर्नु भएको छ। हजारौँ हजार मानिसहरु एमालेमा आइरहेकोबारे पनि उहाँहरुले चर्चा गर्नु भयो,’ गुरुङले भने, ‘रिपोर्टिङका आधारमा मधेश प्रदेशबाहेक अन्य ६ वटामा एमालेको अवस्था पहिलो रहेको जानकारी आएको छ।’
गुरुङका अनुसार सुदूरपश्चिमको बझाङ तथा गण्डकीका मनाङ र मुस्ताङमा जिल्ला अधिवेशन हुन बाँकी रहेको पनि रिपोर्ट आएको छ।गुरुङले अध्यक्ष केपी शर्मा ओलीले बुधबारको बैठकमा राखेको राजनीतिक प्रतिवेदनमाथि आजदेखि विस्तृतमा छलफल हुने पनि जानकारी दिए।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बुधबारको बैठकमा प्रदेश १ बाट तुलसीप्रसाद न्यौपाने, मधेश प्रदेशबाट रामअवतार यादव, बागमतीबाट केशव पाण्डे, गण्डकीबाट नवराज शर्मा, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट विनोदकुमार शाह र सुदूरपश्चिमबाट दामोदर भण्डारीले रिपोर्टिङ गरे।
उनीहरुले आगामी स्थानीय तह निर्वाचनमा एमाले लोकप्रिय मतसहित पहिलो शक्ति बन्ने विवरण प्रस्तुत गरेको पनि रिजालले बताए।



कागजपत्र |
