


नेकपा विवादको पराकम्पनः कार्की ब्याङ्क्वेटको मार्केटिङ

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको घोषणा मात्र बाँकी छ। नेताहरूले एकले अर्कालाई टिठ लाग्दा सम्बोधन मात्र गरेका छैनन्, राष्ट्रिय टेलिभिजनमा पनि खुइल्याउने काम पनि गरिरहेका छन्।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षको विवादको चरम विन्दु अब आधिकारिक नेकपा कुन हो भन्नेमा छ।
प्रतिनिधि सभा विघटनपछि नेकपाको यो विवादको पराकम्पनबीच चर्चामा छ– थापाथलीस्थित कार्की ब्याङ्क्वेट। हरेक मिडियाले समाचारमा जोड्नैपर्ने यस ब्याङ्क्वेटको मार्केटिङ व्यापक हुनुको कारण ठूला र महत्वपूर्ण निर्णय हुनु पनि हो।
प्रचण्ड–नेपाल पक्षले यसै ब्याङ्क्वेटमा आधिकारिकता प्रमाणित गर्नका लागि केन्द्रीय सदस्यको बहुमत रहेको हस्ताक्षरसहितको दाबी मात्र गरेनन्, बैठक राखेर ओलीलाई अध्यक्षबाट कारबाही गरेको घोषणा गरे।
यति मात्र होइन, माधवकुमार नेपाललाई अध्यक्ष बनाएको अर्को घोषणा पनि भयो।
‘मार्केटिङ होइन, नेपाली राजनीतिक इतिहासमा त यो ब्याङ्क्वेटको महत्व अब लेखिने भयो, चाहे राम्रो होस् या नराम्रो राजनीतिक परिणाम तर चर्चा त हाम्रै भयो’, कार्यरत एक कर्मचारीले भने,‘नेकपा विभाजनको औपचारिकता, कारबाही र नेकपाको अध्यक्ष नै निर्वाचितको घोषणा भएको स्थान कहाँ भन्दा कार्की ब्याङ्क्वेट भन्ने भयो।’
यति मात्र होइन, दुवै पक्षका शीर्ष तहका नेताले एकअर्काको आलोचना गर्दा पनि ब्याङ्क्वेटको सन्दर्भलाई उल्लेख गर्दै आएका छन्। एउटा अन्तरवार्तामा नेपाल र केन्द्रीय समितिको बैठकको सम्बोधनमा ओलीले पनि चर्चा गरेका थिए।
अनलाइन न्युज सेभेनसँगको अन्तरवार्ताका क्रममा उद्योग आपूर्ति तथा वाणिज्यमन्त्री लेखराज भट्टले पनि कार्की ब्याङ्क्वेटको चर्चा गर्दै त्यो कुनै आधिकारिक ठाउँ नभएको बताएका थिए।
यसैबीच, बुधबार प्रधानमन्त्री ओली पनि सोही ब्याङ्क्वेटमा जाँदैछन्। आफू पक्षका सुदूरपश्चिमका नेता कार्यकर्ता भेलालाई सम्बोधन गर्ने तयारीअनुसार ओली जान लागेका हुन्।
‘हामीलाई त खुसी छ। प्रधानमन्त्री नै आउने भएपछि के चाहियो। देशका पूर्वप्रधानमन्त्रीहरूको भेला, पूर्वमन्त्रीहरूको सहभागीता, सांसद र नेताको त लाइन नै लाग्यो’, त्यहाँका कर्मचारी भन्छन्,‘बरु, नुन चर्को हुने कि खाना नमिठो हुने भन्ने पो पीर भयो।’

