

कृष्णबहादुर महराका स्वकीय सचिवले पनि त्यागे माओवादी केन्द्र

दाङ – नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका स्वकीय सचिवले पनि माओवादी पार्टी त्यागेको घोषणा गरेका छन्।
माओवादी केन्द्र घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहेका प्रमोद शर्माले पार्टीप्रति असन्तुष्टि जनाउँदै माओवादी त्यागेको घोषणा गरेका हुन्।
हिजो (सोमबार) गरिएको दाङ जिल्लाको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको समाजिक संजाल फेसवुकमार्फत सार्वजनिक गरेका छन्।
उनले लेखेका छन्– ‘आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र)को साधारण सदस्यता समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु। आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्नेछु। जनताको निरन्तर सेवामा निस्वार्थ र सकेजति भुमिकामा आफूलाई उभ्याउनेछु।’
उनले माओवादी त्यागेको घोषणा गरेपछि माओवादी वृतमा हलचल पैदा भएको छ। महरा पछिल्लोपटक सांसद भएसँगै शर्मा उनको स्वकीय सचिव रहँदै आएका थिए।
उनी माओवादी वृतमा भद्र र शालीन नेताका रूपमा परिचित छन्। उनका जेठा दाइले माओवादी युद्धमा ज्यान गुमाएका थिए। उनका सबै परिवार पूर्णकालीन माओवादी हुन्।
माओवादी स्रोतका अनुसार शर्मा दाङ जिल्ला कमिटीको सचिवका आकांक्षी थिए। तर, माओवादीले विश्वराज आचार्यलाई सचिव बनाएपछि उनी असन्तुष्ट थिए।

