लेटाङ घटनाको जाँचबुझ हुन्छ : गृहमन्त्री खाण


काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले मोरङको लेटाङ घटनाको जाँचबुझ गरिने बताएका छन् । लेटाङ नगरपालिका वडा नं ५ मा आइतबार महिला प्रहरी जवानको मृत्यु हुनेगरी भएको घटनाको जाँचबुझ गरिने बताए ।

गृहमन्त्री खाणले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको घटनामा छानबिन गरिने र छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । फागूपूर्णिमाका दिन चैत चार गते शिक्षा विकास माद्यामिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुर्व्यावहार गरेको भन्दै विद्यालयका छात्र छात्रा र अभिभावकहरूसमेतको अनियन्त्रित भिडले विद्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेका थिए ।

अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा मृत्यु भएको थियो । ‘शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको मोरङको लेटाङ घटनाको जाँचबुझ हुन्छ,’ गृहमन्त्री खाणले भने, ‘छानबिनमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिबद्ध छ ।’

गृहमन्त्री खाणले शान्ति सुरक्षा कायम गर्ने क्रममा मृत्यु भएकी महिला प्रहरी जवान श्रेष्ठप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरे । त्यस्तै उनले कर्तव्य पालनाको शिलशिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरे ।

गृहमन्त्री खाणले मोरङका प्रही प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीलाई टेलिफोन गरी कर्तव्य पालनाको शिलशिलामा घाइते भएका सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरे । घटनामा २९ प्रहरी घाइते भएका थिए । ती मध्य अहिलेसम्म पाँच प्रहरी कोशी अस्पतालमा उपचाररत रहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

प्रतिक्रिया