बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल भइरहेको छः अर्थमन्त्री


काठमाडाैं –  अर्थमन्त्री जनार्दन शमाले बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल भइरहेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले बंैकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफुले पहल थालेको बताए ।

‘बैङ्कले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैङ्कको ब्याजदर सीमा निर्धारण भई व्यवसायी अनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु’ उनले भने, ‘राष्ट्र बैङ्कलाई उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी राख्न हुँदैन पनि भनेको छु ।’ उनले चाँडै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यमार्गी बाटो अपनाई समस्या समाधान गर्ने विश्वास दिलाए ।

त्यस्तै, मन्त्री शर्माले नेपालको बैंकिङ र व्यवसायिक क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । मन्त्री शर्माले आयातमा बृद्धि हुनु र अन्तर्राष्ट्रिय क्षेत्रमा हरेक बस्तुमा मूल्यबृद्धि हुँदा बैंकिङ र व्यवसायिक क्षेत्रमा असर परेको बताए । उनले आयात प्रतिस्थापन गर्न ठोस र मूर्तरूपमा क्षेत्रहरू निर्धारण गरेर नै काम गर्नुपर्नेमा जोड दिए । आयात प्रतिस्थापनका लािग उत्पादनमा सरकारले विशेष जोड दिएको उनको भनाइ छ ।

उनले नयाँ बजेट र नीति निर्माण गर्ने बेला आएकाले निजी क्षेत्रको सुझाव आवश्यक रहेको र व्यवसायिक प्रवद्र्धन गर्ने उद्धेश्यले नै बजेट तयार गरिएको बताए । त्यस्तै उनले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य शृङ्खलाका कारण मुलुकको शोधानान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको बताउँदै बिस्तारै सुधार भइरहेको बताए ।

‘शोधानान्तर स्थितिमा सुधार हुँदै छ । हामी तरलता समस्या समाधान गर्ने दिशामा पनि अघि बढेका छौं’ उनले भने । उनले ४७ बस्तुको आयातमा मार्जिन लगाएपछि कूल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउने जानकारी दिए ।

 

प्रतिक्रिया