फाइचौरमा स्थायी प्रहरी चौकी स्थापना


जुम्ला – जुम्लाको सिञ्जा गाउँपालिका–५ फाइचौरमा स्थायी प्रहरी चौकी स्थापना भएको छ । भौगोलिकरूपमा निकै निकट मानिएको सो क्षेत्रका स्थानीयवासीले प्रहरी चौकीको माग गर्दै आएका थिए । स्थानीयवासीको मागअनुसार प्रहरी चौकीको स्थापना गरेको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले जानकारी दिए ।

समाजका विकृति विसङ्गतिको अन्त्य गर्न प्रहरीको महत्वपूर्ण भूमिका हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । प्रहरी हवल्दार नरिमा कठायतको कमाण्डमा पाँच प्रहरी चौकीमा राखिएको छ ।

भौगोलिकरूपमा निकै विकट भएकाले सिञ्जा गाउँपालिकाको–५ र ६ मा घरेलु हिंसा, दुव्र्यवहार, कुटपिट, बहुविवाह र चोरीका घटना हुने गरेको बताइएको छ । वडाध्यक्ष मुनबहादुर रावतले भने, ‘पहिलेदेखि प्रहरी चौकीको माग गरिएको थियो । अहिले आएर चौकी स्थापना भयो । यहीँका स्थानीयवासीमा राम्रो सन्देश गएको छ ।’

सिञ्जा–५ र ६ वडामा पाँच गाउँ छन् । कुनै घटना हुँदा पहिले तीन घण्टा हिँडेर नराकोट प्रहरीचौकीमा जानुपर्ने बाध्यता थियो । प्रहरीचौकी स्थापनाले स्थानीयवासी उत्साहित छन् । गाउँको शान्ति सुरक्षा कायम हुने अपेक्षा गरिएको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया