


माओवादी नेता पुनले कांग्रेस नेतालाई किन दिए विचार गरेर बोल्न चेतावनी

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले ५ वर्षका लागि सडकमा पछारिएको नेपाली कांग्रेसलाई आफूहरूले सत्तामा पुर्याएको टिप्पणी गरेका छन्। तर आफूहरूले बुई चढाएर सत्तामा पुर्याएको कांग्रेसका केही नेतामा उन्माद देखिएको भन्दै पुनले आक्रोश व्यक्त गरेका हुन्।
उनले माओवादी केन्द्र र सत्ता गठबन्धनमा आबद्ध अरू दललाई सार्वजनिक टिप्पणीमार्फत हेप्न र अपमान नगर्न चेतावनी दिए। पुनले सत्तामा रहेकालाई सडकमा र सडकमा रहेकालाई सत्तामा पुर्याउने हैसियत आफूहरूको रहेकाले विचार गरेर बोल्न आग्रह गरे।
‘पाँच वर्षका लागि सडकमा पुगेको कांग्रेसलाई बुई चढाएर हामीले सत्तामा पुर्याएका हौं। आज केही कांग्रेस नेताहरूमा सत्ता उन्माद देखिएको छ’, माओवादी लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै पुनले भने, ‘कांग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेका छन्। हामी सरकार बनाउन सक्छौं, भत्काउन सक्छौं। सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्याउने ताकत हामीसँग छ। यो कांग्रेस नेताहरूले बुझ्न जरुरी छ।’
उनले चुनावी गठबन्धनविरुद्ध रहेका कांग्रेस नेतालाई चार वर्षअघि फर्किएर ०७४ को निर्वाचन परिणाम स्मरण गर्न सुझाव दिए। आफ्नो वास्तविक शक्ति सम्झिएर के बोल्नेरके नबोल्नेबारे विचार गर्न पुनले चेतावनी दिए। पुनले केपी ओलीमा सत्ता उन्माद चढेपछि उनले भोगेको हविगतबाट पाठ सिक्न कांग्रेस नेतालाई सुझाव दिए।
‘सत्ता उन्मादले केपी ओली प्रतिगमनको नाइके हुनुभयो। पटकपटक संसद् विघटन गर्नुभयो’, उनले भने, ‘आफ्नो कर्मका कारण दुईतिहाइ विशाल जनमतसहितको शक्तिशाली प्रधानमन्त्री आज सडकमा पुग्नुभएको छ, ६ महिनादेखि बिना एजेन्डा संसदमा नारा लगाइरहनुभएको छ।’
तर, आफ्ना हार्डकोर कार्यकर्ताबाहेक कसैले पनि ओलीप्रति सहानुभूति नदर्शाएको अवस्था कांग्रेस नेताले बुझ्नुपर्ने पुनले बताए। उनले माओवादी केन्द्र कसैसँग तालमेल नगरी आफ्नै बलमा निर्वाचन लड्न र जित्न सक्षम रहेको दाबी उनले गरे। स्थानीय तह र संघीयताका लागि माओवादी लडेको चर्चा गर्दै पुनले त्यसको नेतृत्व गर्न पनि माओवादी सक्षम साबित भएको दाबी गरे।
वित्त आयोगको प्रतिवेदनले कार्यसम्पादनका आधारमा देशभरका पाँच उत्कृष्ट पालिकामध्ये पहिलो, तेस्रो र पाचौं माओवादीले नेतृत्व गरेका स्थानीय तह भएको औल्याएको भन्दै पुनले माओवादी जनप्रतिनिधिले जनताका पक्षमा काम गरेको बताए।

