कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरमा झर्‍यो


काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । अन्तर्राष्ट्रिय तेल बजारको जानकारी दिने ओयलप्राइस डटकमका अनुसार कच्चा तेलको मूल्य घट्न थालेको हो ।

ओयलप्राइसका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ९९.६९ डलर प्रतिब्यारेल छ । यस्तै, वेस्ट टेक्सास इन्टरमेडियट (डब्लूटीआइ) कच्चा तेलको मूल्य ९६.६६ रुपैयाँ प्रति ब्यारेल छ । यसअघि, कच्चा तेलको मूल्य प्रति ब्यारेल १३० अमेरिकी डलरसम्म पुगेको थियो । रुसले छिमेकी मुलुक युक्रेनमाथि सैन्य हमला गरेपछि विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको थियो ।

यसैबीच भारतका दुई उच्च अधिकारीले भारत सरकारले रुसबाट सस्तो मूल्यमा तेल आयात गर्नसक्ने जनाएका छन् । भारतले विश्व बजारबाट ८० प्रतिशत तेल आयात गर्छ ।

जसमा ३ प्रतिशत रुसबाट मात्रै आयात गर्छ । भारत सरकारले मूल्य घटाएर दिएमा रुसी तेल आयात बढाउन सक्ने जनाएको छ । नेपालले पनि भारतबाट तेल आयात गर्ने भएकोले यसलाई निकै चासोका हेरिएको छ ।  भारतले सस्तो मूल्यमा रुसी तेल आयात गरेमा नेपालमा पनि इन्धनको भाउ घट्न सक्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया