

स्थानीय चुनावमा एमाले एक्लैले ७० प्रतिशत सिट जित्छ : अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै चुनाव लड्न सक्षम रहेको बताए छन्।
आज (मंगलबार) अखिल नेपाल महिला संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले एक्लैले ७० प्रतिशत सिट जित्ने दाबी गरेका हुन् । स्थानीय तहको निर्वाचनमा हामी ६० देखि ७० प्रतिशत सिट जित्न सक्छौं, उनले भने, पालिका वा सिटका हिसाबले यति जित्नका लागि हामी एक्लै सक्षम छौं।’
मोहन वैद्य नेतृत्वको पार्टीले चुनाव बहिष्कार गर्ने समाचार सुनेको भन्दै ओलीले कतै जित्ने स्थिती नभएपछि यस्तो फण्डा गरिएको टिप्पणी गरे।
कतिपय बुद्धिजीवीले कम्युनिष्ट एकता नभए सकिन्छन् भनेर बेकारको कुरा गरिरहेको भन्दै ओलीले नामका कम्युनिष्ट पार्टीले मात्रै केही नहुने बताए।
‘पाँच दल मात्रै लडून् कि ७ दल १० दल मिलेर लडून् भोटमा कुनै फरक पर्नेवाला छैन’, ओलीले भने, ‘म तराई झर्न सकेको छैन तर त्यहाँबाट विभिन्न पार्टीबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्ता बस चढेर काठमाडौं आइरहेका छन्, एमालेमा प्रवेश गर्ने लहर चलिरहेको छ।’
अहिले देशमा दुई खाले राजनीतिक शक्ति रहेको भन्दै ओलीले थपे, ‘कांग्रेस–कम्युनिष्ट होइन,परमादेशी, प्रतिगामी, कम्युनिष्ट विरोधी शक्ति र हामीले भनेको जनादेशको शक्ति हो।’

