भूलवश पाकिस्तानी भू-भागमा मिसाइल प्रहार भएको भन्दै पाकिस्तानसँग भारतले माग्यो माफी


काठमाडाैँ – भारतीय रक्षा मन्त्रालयले तीन दिनअघि भूलवश पाकिस्तानी भूभागमा मिसाइल प्रहार हुन गएको भन्दै उक्त घटनाप्रति क्षमा मागेको छ।

नयाँ दिल्लीस्थित भारतको रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा नियमित मर्मतका क्रममा भएको प्राविधिक त्रुटीका कारण भारतबाट पाकिस्तानी भूभागमा मिसाइल प्रहार हुने गरेको उल्लेख गरिएको छ।

‘मार्च ९, २०२२ का दिन नियमित मर्मतका क्रममा प्राविधिक गडबढी हुँदा भूलवश मिसाइल प्रहार हुन गएको थियो। उक्त मिसाइल पाकिस्तानी भूभागमा प्रहार हुनु दुर्भाग्यपूर्ण ठानेका छौं’ विज्ञप्तिमा भनिएको छ।

यसअघि पाकिस्तानी विदेश मन्त्रालयले घटनाप्रति विरोध गर्दै भारतले जानाजान पाकिस्तानी भूभागमा मिसाइल हानेको बताएको थियो।भारतका तर्फबाट पाकिस्तानी एयर स्पेस उल्लंघन गर्ने निन्दनीय काम भएको पाकिस्तानले जनाएको छ। पाकिस्तानी विदेश मन्त्रालयले इस्लामावादस्थित कार्यवाहक भारतीय राजदूतलाई मन्त्रालयमै बोलाएर घटनाको कडा विरोध गर्दै त्यसबारे स्पष्टिकरण समेत लिएको छ। भारतको यस्तो निन्दनीय व्यवहारले क्षेत्रीय शान्ति र स्थिरतामा समेत गम्भीर चुनौति खडा गरेको पाकिस्तानले जनाएको छ।

प्रतिक्रिया