नेकपा जोगाउने यान्कीको सूत्र येचौः भारत विभाजन गराउँछ, चीन समायोजन चहान्छ!


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी विभाजनमा गएपछि यसलाई जोगाउन चिनियाँ शक्ति केन्द्रको म्याराथन चलेको छ। खासगरी भारतीय र चिनियाँ पक्षले नेपालको आन्तरिक राजनीतिमा खुला हिसाबमा नै चासो देखाएका छन्। रक्षात्मक रहेको चीनले भारतको जस्तै सक्रियता देखाउनु आफूप्रतिकूल नेपाली भूमीको प्रयोग नहोस् भन्ने नै हो।

नेकपाका बेलामौका आउने विवादलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले मध्यस्तता गर्दै आएकी थिइन्। प्रतिनिधि सभा विघटनपछि नेकपाको विवाद चरम उत्कर्सको नमूना भएपछि यान्की सक्रिय थिइन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट गरेकी थिइन्। तर नेकपा विभाजनबाट जोगिने कुनै संकेत फेला नपरेपछि दबाबका लागि उनले अर्को सूत्र फिट गरिन्– चिनियाँ उच्चस्तरीय टोलीको भ्रमण।

नेकपा विवादकाबीचै यो भ्रमणको तय भएपछि आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा विशेष विमानमा चार सदस्यीय टोली आयो।

‘नेकपाको बहुमतलाई कायम राख्न र भारतीय तथा अमेरिकी रणनीतिको प्रभावलाई रोक्नका लागि नेपालमा स्थिरता राख्ने प्रयत्नमा येचौको भ्रमण भएको बुझिएको छ’, उच्च स्रोतले भन्यो,‘प्रचण्ड–नेपाल समूहले अब ओलीसँग सहकार्य गर्न नसकिने भन्ने यान्कीलाई दिएको जवाफको प्रभावमा नै यो टोलीको भ्रमण भएको हो।’

चीनसँग पारवाहनदेखि अन्तर्राष्ट्रियस्तरको सम्बन्ध विस्तार गरेका ओलीलाई शक्तिबाट उनीहरू हटेको हेर्न चहाँदैनन्। चीनविरोधी शक्तिले नेकपामा दोहोरो खेलिदिएको उनीहरूको ठम्याई छ।

यहि पृष्ठभूमीमा प्रधानमन्त्री ओलीसँग उच्चस्तरीय टोलीले आइतबार साँझ बालुवाटारमा भेटवार्ता गरेको थियो। सो क्रममा पारस्परिक सम्बन्धको सवालसँगै नेकपाको विवाद मत्थर पार्नका लागि सुझाव समेत दिएको बताइन्छ। त्यसअघि टोलीले प्रतिनिधि सभा भंगका विषयमा राष्ट्रपति भण्डारीसँग पनि छलफल गरेको थियो।

नेकपाको विवादलाई समाधान गरी शक्तिशाली कम्युनिस्ट पार्टी बनाउनलाई अझ पहल हुनुपर्ने भन्दै टोलीले प्रचण्ड र नेपाललाई पनि भेट्ने तयारी गरेको छ। सोमबार यो टोलीले भेटेपछि नेकपाको आगामी यात्रा कस्तो हुने भन्ने तय हुनेछ।

भारतीय पक्ष भने नेकपाको विभाजन नै चहाने विविध विवरणले प्रष्ट पारेका छन्। नेपालमा राजदूतका रुपमा लामो समय काम गरेका रणजीत रायले नै ओली भारतसँग सम्बन्ध विस्तारका लागि सक्रिय रहेका कारण नेकपाको अहिलेको अवस्था आएको जनाउँदै चीन नेकपाको एकता चहाने उल्लेख गरेका थिए।

नेपाल मामिला जानकार भारतीय प्राध्यापक एसडी मुनीले भने ओलीको भारतसँगको सम्बन्ध कहिले पनि राम्रो नहुने बरु प्रचण्डहरूसँग नै सहकार्य हुने आशयमा बताएका थिए।

नेकपाको अहिलेको विग्रह भारतले गराएको भन्ने कतिपयको आरोप छ। तर यस विषयमा भारतीय पक्षले भने आन्तरिक मामला मात्र भनिरहेको छ।

प्रतिक्रिया