प्रारम्भिक मत सर्वेक्षण भन्छ : आम आदमी पार्टीले पहिलोपटक दिल्लीभन्दा बाहिर जित्ने


भारत – भारतका विभिन्न पाँच राज्यमा विधानसभाको निर्वाचन सम्पन्न भएको छ। विभिन्न चरणमा गरिएकाे चुनावकाे मतगणना बिहीबार हुनेछ।

तर यी राज्यका प्रारम्भिक मत सर्वेक्षणको नतिजा सार्वजनिक भइसकेका छन्।

भारतको पञ्जाब, उत्तराखण्ड, उत्तर प्रदेश, गोवा र मणिपुरमा विधानसभा निर्वाचन भएको हो। यीमध्ये पनि अहिले धेरैको ध्यान पञ्जाब र उत्तर प्रदेशमा देखिएको छ।

उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी दोहोरिने वा समाजवादीले बाजी मार्ने भन्ने चासोको विषय छ भने पञ्जाबमा कांग्रेस नै आउने वा आम आदमी पार्टी (आप) ले पहिलोपटक दिल्लीभन्दा बाहिर आफ्नो पकड विस्तार गर्ने भन्ने चर्चा चुलिएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रारम्भिक मत सर्वेक्षणले पञ्जाबमा यसपटकको विधानसभा निर्वाचन आपले जित्ने सम्भावना बलियो देखिएको छ।

एक्सिस माइ इन्डिया, टाइम्स नाउ र चाणक्यको मत सर्वेक्षणले पञ्जाबमा आपले भारी बहुमतका साथ जित हात पार्न सक्ने देखाएको छ।

विभिन्न १० एक्जिट पोलको औसतलाई आधार मानेर हेर्दा पञ्जाबको ११७ सिटमध्ये आपले ६३ सिट पाउन सक्ने देखिएको छ। बहुमतका लागि ५९ सिट आवश्यक पर्छ।

पञ्जाबमा आपले जित हात पारे दिल्लीभन्दा बाहिर उसको पहिलो सरकार बन्नेछ। दिल्लीमा सन् २०१५ मा आपले पहिलोपटक सरकार बनाएको थियो। त्यसयता उसले दिल्लीमा राम्रो प्रभाव विस्तार गरेको छ।

पञ्जाबमा आपले यसपटकको मुख्यमन्त्रीको उम्मेदवार भागवान्त मनलाई बनाएको छ। त्यसका लागि पार्टीले पञ्जाबमा नागरिकहरुबाट राय लिएको थियो।

‘जनता चुन्नेछन् आफ्ना मुख्यमन्त्री’ अभियान सञ्चालन गर्दै आपले फोन र सामाजिक सन्जालमार्फत् जनताको अभिमत मागेको थियो। अभियानमा सहभागीले भागवान्त मनलाई मुख्यमन्त्री बनाउनुपर्ने मा धेरै मत दिएका थिए।

यो अभियानमा करिब २२ लाख मानिस सामेल भएको र त्यसमध्ये ९३ प्रतिशतले उनलाई मुख्यमन्त्रीको रुपमा हेर्न चाहेको आपले बताएको छ।

भागवान्त सन् २०१४ देखि लोकसभा सदस्य छन्। सन् २०१९ को चुनाव पन्जाबबाट लोकसभा चुनाव जित्ने उनी एकमात्र आप उम्मेदवार हुन्।

उत्तर प्रदेशमा यसपटक पनि भाजपाकै जित हुन सक्ने देखिएको छ। एक्जिट पोलहरुका अनुसार भाजपाले ४०३ मध्ये २४२ सिटसहित बहुमत ल्याउन सक्ने देखिएको छ।

त्यस्तै मणिपुर र उत्तराखण्डमा भाजपा पहिलो पार्टी भए पनि बहुमत भने नपुग्ने देखिएको छ। गोवामा भने भाजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुन सक्ने देखिएको छ।

प्रतिक्रिया