वाणिज्य बैंकहरुको निक्षेपमा सुधार, एक सातामा ११ अर्ब रुपैयाँले बढ्यो


काठमाडाैँ – पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप बढेको छ । चालु आर्थिक वर्ष लागेयता सुस्ताएको वाणिज्य बैंकहरुको निक्षेप संकलन पछिल्लो एक सातामा ११ अर्ब रुपैयाँले बढेको हो । नेपाल बैंकर्स एसोसिएसनका अनुसार पछिल्लो एक साता अर्थात फागुन १४–२० गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ । पछिल्लो समय सरकारी खर्चमा आएको तुलनात्मक सुधार तथा आयातमा गरिएको नियन्त्रणले निक्षेप बढाएको हो ।

योसँगै फागुन २० गतेसम्म वाणिज्यहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । गत फागुन १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो । यसैगरी यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ५ अर्ब रुपैयाँले बढेको छ । योसँगै फागुन २० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ ।

गत फागुन १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६५ अर्ब रुपैयाँ रहेको थियो । यो तुलनात्मक रुपमा भने कमी हो । नेपाल राष्ट्र बैंकले विलासीताका बस्तुहरुको आयातमा गरेको कडाईका कारण आयातका लागि बुक गरिएका कर्जाहरु रद्द भएपनि कर्जा घटेको हो । हालसम्म ऋण प्रवाह ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको हो । गत हप्ता ४१ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको थियो ।

त्यसैगरी फागुन महिनामा विदेशी मुद्राको कर्जा लगानी भने निरन्तर घटेको छ । फागुन महिनाको पहिलो सातामा ९ अर्बले घटेको विदेशी मुद्राको कर्जा दोस्रो सातामा पनि ९ अर्बले नै घटेको थियो । फागुन महिनाको १३ देखि २० गतेसम्ममा विदेशी मुद्राको कर्जा ७ अर्बले घटेको छ । त्यतीमात्र नभई आयातका लागि पनि विदेशी मुद्रा भन्दा पनि स्वदेशी मुद्रामा नै टिआर लोन जारी गर्न थालेकाले पनि विदेशी मुद्राको कर्जा घट्दो क्रममा देखिएको हो ।

 

प्रतिक्रिया