सरकारले तेल किन्न आयल निगमलाई ४ अर्ब २५ करोड दिने


काठमाडाैं – सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि रकम उपलब्ध गराउने भएको छ ।

मूल्य स्थिरीकरण कोषको सोमवार बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ता बापतका नपुग ४ अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

गत बिहीवार पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि १५ दिनमा करीब २ अर्ब ५० करोड घाटा रहेको निगमले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएपछि निगमको खरिद मूल्य बढेर घाटा बढ्दै गएको छ ।

निगमले आईओसीलाई मार्च महिनामा बुझाउनुपर्ने पहिलो किस्ता बापतको रकम अपुग भएपछि मूल्य स्थिरीकरण कोषबाट नपुग रकम उपलब्ध गराउन माग गरेको थियो । निगमले प्रत्येक महिनाको ८ र २३ तारिखका दिन आईओसीलाई किस्ता बुझाउँदै आएको छ ।

यसअघि स्थिरीकरण कोषबाट गत जनवरी महिनामा निगमलाई १ अर्ब ८० करोड उपलब्ध गराइएको थियो । निगमलाई रकम उपलब्ध गराउने सरकारको निर्णयबाट पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाइराख्न मद्दत पुग्ने प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेकाले आईओसीलाई भुक्तानी गर्नुपर्ने रकम अझ धेरै नै नपुग हुने स्थिति देखिएको निगमले जनाएको छ । विश्व बजारमा अहिले कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० डलर नाघेको छ ।

प्रतिक्रिया