

गठबन्धन जोगाउन व्याख्यात्मक घोषणामा एमसीसी पास गर्यौं : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन जोगाउन व्याख्यात्मक घोषणामा सहमति जुटाएर एमसीसी पास गरेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले शुक्रबारको केन्द्रीय समिति बैठकमा माओवादी परिमार्जन बिना एमसीसी पास गर्ने पक्षमा नभएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएरै भएपनि एमसीसी पास गर्न खोजेपछि गठबन्धनभित्र छलफल गरेर व्याख्यात्मक घोषणामा सहमति जुटाइएको बताएका हुन् ।
एमालेको चाहना गठबन्धन भत्काउने रहेकाले एमसीसीमा उसले सुनौलो अवसर खोजेपनि त्यो सफल हुन नसकेको प्रचण्डको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले एमालेको योजनाअनुसार प्रधानमन्त्री ढल्किँदा गठबन्धनमा खटपट भएपनि व्याख्यात्मक घोषणासहितको एमसीसी पास भएपछि गठबन्धन जोगिएको बताएको एक केन्द्रीय सदस्यले बताए ।
व्याख्यात्मक घोषणासहितको एमसीसी अमेरिकाले स्वीकार गरेको दाबी गर्दै प्रचण्डले बीचमा कुनै समस्या आए त्यसलाई तोड्न सकिने अवस्था रहेको पनि बैठकमा बताएका थिए ।
प्रचण्डले बैठकमा व्याख्यात्मक घोषणासहितको एमसीसी नै लागू हुने भएकाले सबै ढुक्क हुनुपर्ने बताएका थिए ।

